२६ भदौ ,काठमाण्डौ ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको छ । १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको हो ।
यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी भर्ना लिएको भएपनि अहिले बढाएर १ लाख १५ हजार जना म्यादीका लागि भनाए आह्वान गरिएको छ । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् ।
दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । म्यादीको कार्यअवधि ४० दिनको हुने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् । दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।
असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने छ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने प्रहरी प्रधान कार्यालय नक्शालले जनाएको छ । म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको ३४ हजार ७ सय ६० रुपैया पारिश्रमिक पाउने छन् ।
त्यसवाहेक उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् ।