२७ भदौ ,काठमाण्डौ ।
नाबालिका बलात्कारको आरोपमा प्रहरी अनुसन्धानमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको विषयलाई लिएर अभिनेत्री तथा टिभी प्रस्तोता रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् । रिमाले नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेसँग जोडिएको विषय अनुशन्धानकै क्रममा रहेका बेला कालो सूचीमा राखिएको भन्दै सार्वजनिक टिप्पणी गरेकी छिन् ।
‘अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालो सूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’ भन्दै रीमाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गरेकी हुन् । लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । उनलाई विमानस्थलबाटै पक्राउ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनी कुनै पनि बेला नेपाल आउने खबर आएपछि प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भइसकेका छन् । प्रहरी वृत्त गौशालामा परेको जाहेरीका आधारमा काठमाडौं प्रहरी परिसरले उनी विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ। भदौ ६ गते उनी केन्यामा टी–२० खेल्न गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न उनी वेष्ट इन्डिज गएका थिए । क्यानले निलम्बन गरेसँगै उनी वेष्ट इन्डिजमा सीपीएल नखेली फर्किने बताएका छन् ।
उनले शुक्रबार मात्रै आफू सीपीएल छाडेर आरोप सामना गर्न नेपाल आउन लागेको बताएका थिए । रीमाले फेसबुकमा लेखेकी छिन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन । तर, आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’ उनको स्टाटसमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले चाहिँ रिमाको समर्थन गरेका छन् ।