२ असोज , काडमाण्डौ ।
आज देशभरका ७७ वटा जिल्लामा नै आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम हुँदैछ । बढ्दो आत्महत्याको अवस्थाले सबैलाई चिन्तित बनाएको अवस्थामा नेपालमा बढ्दो आत्महत्याका घटनाको न्यूनिकरणका लागि आयोजित सचेतना कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्नु नहुने उनले बताएका छन् । गृहमन्त्री खाँणले हरेक मानिसले सबैभन्दा पहिला आफ्नो जीवन र समाजको रक्षा गर्न सक्नुपर्ने बताएका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपालमा आत्महत्या सम्बन्धित तथ्यांक दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
उनले आर्थिक वर्ष २०७७÷०७८ मा कोभिडको बेलामा ९ हजार ४०९ जनालाई कोभिडका कारणले गुमाएको र सोही अवधिमा ७ हजार १४१ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको बताए । उनले कोरानाले आक्रान्त बनाएको बेलामा कोभिडका कारण भन्दापनि आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको बताए ।
कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै समस्या समाधानको पहिचान गर्न आवश्यक रहेको बताए । उनले समाजका घटनालाई नजिकबाट नियाल्न र समाजमा फैलिरहेका विकृति, विसंगतितर्फ राज्यको ध्यान जान आवश्यक भएको बताए ।
उनले नेपाल आत्महत्या गर्ने १२६ औं स्थानमा रहेका भन्दै यो दिनानुदिन बढ्दो अवस्थामा रहेको बताए । कार्यक्रममा काठमााडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जीवनमा जित नभइ हार्न सक्नुपर्ने बताए । उनले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताए ।
उनले भने, ‘हामीले जिन्दगीमा हार्न सिकेका हुँदैनौँ । हामी सोसल मिडियामा ब्यस्त हुन्छौँ । हामी हार्न निकै डराउँछौँ । हामी आफूलाई कमजोर छौँ भन्ने सोच्छौँ तर त्यसरी सोच्नु हुँदैन । कुनैपनि कुरा हार्न सिक्नुपर्छ । सबै ठाउँमा सफल भइन्छ भन्ने हुँदैन । हार्नुले हामीलाई धेरै सिकाउँछ ।’ कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिले युवा पुस्ताले सबैभन्दा धेरै आत्महत्या गरिरहेको बताइन । उनले सामाजिक सञ्जाललाई सही प्रयोग गर्न नसक्दा पनि कतिपय आत्महत्याका घटना हुने गरेको भन्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताइन ।