अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ फेरि किन नेपाल आउँदै ?

११ असोज, एजेन्सी ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी), स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) लगायतका अमेरिकी परियोजनाबारे नेपालमा चीनले अनेकौ अफवाह फैलाएको आरोप अमेरिकाले लगाउँदै आएको छ । अमेरिकी परियोजना तथा नेपालमा बढ्दो अमेरिकी चासोलाई चीनले पनि नजिकबाट नियाल्ने मात्रै होइन यसप्रति आफ्नो आपत्ति कहिले मौखिक त कहिले बक्तब्य निकालेरै जनाउँदै आएको छ ।

यी विषयहरुमा चीन र अमेरिका पछिल्लो पटक नेपालमा खुलेरै आमनेसामने भएका छन् । एकातिर दुई शक्ति राष्ट्र नेपाल मामिलामा वाकयुद्धमा होमिएका छन् भने अर्कातिर दुवै देशका उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । केही दिन अघिमात्रै चिनियाँ कँग्रेसका अध्यक्ष जम्बो टोलीका साथ नेपाल भ्रमण गरेर फर्किएका थिए ।

बुधबार पुनः अमेरिकाबाट उच्च अधिकारी नेपाल आउँदैछन् । कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो भोलि बुधबार नेपाल भ्रमणमा आउने भएकी छन् । ट्रुडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुन् ।

अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ । अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ ।

नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने भएकी हुन् ।

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले अमेरिकी संसद् सिनेटमा गत जुलाई महिनामा संसदीय सुनुवाइका क्रममा चीनले एमसीसीबारे भ्रमणपूर्ण सूचना फिँजाए पनि नेपालको संसदले एमसीसी परियोजना पास गरेको बताएका थिए ।त्यसलगत्तै नेपालस्थित चिनियाँ दूतावासले उक्त आरोपको खण्डन गरेको थियो ।

चिनियाँ दूतावासले अमेरिकी राजदूतको अभिव्यक्ति चीनलाई बदनामी गराउने चालका रुपमा व्याख्या गर्दै राजदूतको भनाइले नेपाल र नेपाली जनताको अपमान भएको बताएको थियो । अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टका अनुसार उनले नेपालमा रहँदा अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्नेछिन् ।

उनले विगतमा अमेरिकी दूतावासको प्रायोजनामा अमेरिका भ्रमण गरेका केही नेपालीसँग पनि छलफल गर्नेछिन् । अमेरिकी कूटनीतिज्ञ ट्रुडोले नेपालमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम भने नरहेको अमेरिकी दूतावासका अधिकारीहरुले बताएका छन् ।

१२ दिनको विदेश यात्रामा उनी नेपालपछि संयुक्त अरब इमिरेट्स भ्रमणमा जानेछिन् । त्यसपछि उनी मध्य एसियाका उज्वेकिस्तान र किर्गिस्तान जानेछिन् । अमेरिकी कूटनीतिज्ञ ट्रुडो विगतमा अमेरिकी रक्षा मन्त्रालयको उच्च ओहदामा रहेर काम गरिसकेकी छन् ।

Scroll to Top