१५असोज ,एजेन्सी ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सरुवा हुने भएको छ । कुटनितिक स्रोतका अनुसार राजदूत होउ चीनका दक्षिण पुर्वी एसियाली देशहरूको सङ्गठन आसियान हेर्नेगरि राजदूत बन्न लागेकी हुन । उनको जिम्मेवारीमा चीनको इन्डोनेशियासङ्गको द्वीपक्षीय सम्बन्ध पनि छ ।
उनी डिसेम्बर अघि नै नेपालबाट बिदा हुनेछिन् । होउ सन् २०१८ मा राजदुतको कार्यभार सम्हाल्न नेपाल आएकी थिइन् । उनी विदा भएपछि नेपालका लागि नयाँ चिनियाँ राजदूतको नाम भने टुंगो लागिसकेको छ । नेपालको पछिल्लो राजनीतिमा यान्छीको भूमिका निकै सक्रिय रहेको थियो ।
खासगरी, नेकपाको विवादमा यान्छीले चासो राखेकी थिइन् । र, उनले नेकपा विभाजन रोक्न शीर्ष नेताहरूलाई सुझाव दिएकी थिइन् । सन् १९९८ देखि २००१ सम्म पाकिस्तानमा रहेको चिनियाँ दूतावासमा रहेर काम गरेकी यान्छी २००१ देखि २००७ सम्म चिनियाँ विदेश मन्त्रालयमा रहेर एसियाली देशहरू हेर्ने जिम्मेवारीमा थिइन् ।
त्यसैगरी, सन् २००९ सम्म लस एन्जेलसको कन्सुलरका रूपमा काम गरेकी यान्छी सन् २०१८ सम्म चिनियाँ विदेश मन्त्रालयअन्तर्गत नै रहेर एसिया क्षेत्रको सुरक्षा, आर्थिकलगायत क्षेत्रमा काम गरेकी थिइन् ।
राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्किने हुँदा उनले नेपालमा अन्तिम पटकको उच्चस्तरीय भेटघाटका लागि प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलसँग समय समेत माग गरेकी छन् ।
यान्छी फर्किएर नयाँ चिनियाँ राजदूतको टुंगो लाग्न बाँकी रहेका बेला शुक्रबार नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । हालका राजदूत ¥यान्डी बेरी चार वर्ष कार्यकाल पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् ।