१५ असोज, काठमाण्डौ ।
खोल्सोको सुन तथा कालो सुन भनिने अलैचीबाट नेपालले दुई महिनामा ६८ करोडभन्दा बढी आम्दानी गरेको छ । साउन र भदौ महिनामा ६८ करोड ९ लाख ४१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८ लाख ४० हजार ८७४ किलो अलैंची निर्यात भएको हो ।
जुन गत वर्षको तुलनामा झन्डै २३ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा ९१ करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरको ११ लाख २५ हजार ९५० किलो अलैंची निर्यात भएको थियो । नेपाली अलैंचीको बजार भारत र पाकिस्तान हुन् । तर पहिलो दुई महिना भारतमा मात्रै निर्यात भएको छ । गत वर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैंची निर्यात भएको थियो ।
भारतमा ४ अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो र पाकिस्तानमा ३ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको ७० हजार किलो अलैंची निर्यात भएको छ । अलैंचीको खेती हुने पहाडी जिल्लाका ग्रामीण भेगहरूमा अलैंची खेती गर्ने किसानको संख्या बढदै गएको छ ।
सेपिलो र पानीको स्रोत भएको जमिनमा राम्रो उत्पादन हुने भएकाले किसानको रोजाइमा अलैंची खेती गर्दै आएको व्यवसायीहरू बताउँछन् । एक जिल्लामा सरदर ८ सय क्विन्टलजति अलैंची उत्पादन हुने अनुमान छ । कुनै जिल्लाबाट त ३१ करोड ३७ लाख रुपैयाँबराबरको २ सय ५० मे.टन अलैंची बाहिर गएको भनिन्छ ।
अत्यधिक आम्दानी हुने अलैंची खेतीको विस्तार भइरहेको छ । पूर्वका पहाडी जिल्ला ते¥हथुम, ताप्लेजुङ, पाँचथर, सखुवासभासहित देशका ४० जिल्लामा अलैंची उत्पादन हुँदै आएको छ । लमजुुङको अलैंची अरू जिल्लाभन्दा नेपालभरिमा सबैभन्दा राम्रो मानिएको देखिन्छ । अलैंची साउनदेखि मंसिरसम्म उत्पादन भइसक्छ ।
कृषिजन्य वस्तुमध्ये सबैभन्दा महँगोमा भारतीय बजारमा निर्यात हुने अलैंची नै हो । नेपालमा वार्षिक करिब ५ हजार मे.टन अलैंची उत्पादन हुने गरेको छ । यसको ९८ प्रतिशत भारतमा नै हुने गरेको छ । नेपालमा १४ हजार २ सय ६ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुने गरेको छ ।
त्यसमा नेपालको कुल अलैंची उत्पादन र निर्यातको ९५ प्रतिशत हिस्सा पूर्वाञ्चलले ओगटेको छ । नेपालको पूर्वी पहाडमा उत्पादन भएका अलैंचीले कुनै वर्ष वार्षिक १० अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन गरेको देखिन्छ । नेपालमा विदेशी मुद्रा भिœयाउनेमा विप्रेषणपछि अलैंची कुनै वर्ष त दोस्रो स्थानमा परेको देखिन्छ ।
मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, रक्सी आदिको उत्पादनमा प्रयोग हुने अलैंचीको माग तेस्रो देशमा बढ्दो छ । अलैंचीको निकासीबाट वार्षिक ६ अर्ब नेपाल भित्रिने गरेको छ । नेपालबाट अलैंची निकासी ९९ प्रतिशत भारतीय बजारमा हुने गरेको छ ।
भारतले नेपालमा उत्पादन भएको अलैंची गुणस्तरहीन भन्दै दोष लगाएपछि नेपालमा उत्पादित अलैंचीले मूल्य गुमाएको बताइन्छ । नेपालमा उत्पादन हुने अलैंची भारतको सिलगुढी, जोगमनी भएर नयाँ दिल्लीसम्म पुग्दछ । नयाँ दिल्लीबाट पाकिस्तानमा समेत गरेर दैनिक १ सयदेखि डेढ सय मनसम्म बिक्री बिक्री हुन्छ । अरू बाँकी अलैंची खाडी बजारमा समेत पुग्ने गर्दछ ।