२४ असोज, काठमाण्डौ ।
आसन्न निर्वाचनका लागि पार्टीबाट टिकट नपाएका नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट आइतबार उम्मेदवारी मनोनयन गराएका छन् । यसक्रममा नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेले भुसाललाई टिकट नदिएपछि शनिबार पार्टी छाडेको घोषणा गरेका थिए । एमालेकै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौँ क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
साथै एमालेका नेता प्रभु साहले रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपासँग एमालेले चुनावी तालमेल गरेपछि आफूले पार्टी परित्याग गरेको उनले बताएका छन् । साहको समूहले जसपालाई दिइएको १६ वटै निर्वाचन क्षेत्रमा आइतबार स्वतन्त्र उम्मेदवारी समेत दिएको छ ।
नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीले टिकट नदिएपछि चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनलाई कांग्रेसले केही वर्षअघि अनुशासनको कारबाही गर्दै सदस्यबाट नै हटाएको थियो ।
कांग्रेसका नेता अमरेशकुमार सिंहले टिकट नपाएपछि सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
काठमाडौँमा क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्व नगर सभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिए भने कांग्रेसबाट असन्तुष्ट काठमाडौं –६ का पूर्व वडाध्यक्ष दीपेन्द्र लामाले प्रदेश (क) का लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । साथै प्रदेश (ख) मा महिला सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।
लेखक युग पाठकले झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको डडेलधुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।