२८ कात्तिक,एजेन्सी ।
नेपाली अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेका छन् । आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।
फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् ।
फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । एक तस्वीरमा प्रदीप र पाश्र्व गायक तरुण सागर सँगै देखिएका छन् । मुम्बईको एक फिल्म प्रोजेक्टका लागि प्रदीप यतिबेला भारतमा छन् ।
तर उक्त फिल्म गर्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन । प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर ऐतिहासिक कमाइ गरेको थियो । नेपालमा प्रदर्शन हुनु अघि यसको सेन्सरलाई लिएर निकै विवाद भएको थियो ।
भुवन केसी अध्यक्ष रहेको चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस दिएको थियो ।
यो फिल्मको हिन्दी डबलाई विदेशी फिल्म सरह कर लगाउन पर्ने चलचित्र निर्माता संघको माग थियो भने हिन्दी डबलाई नेपाली फिल्म नै मानेर कर छुट पाउनु पर्ने निर्माण टिमको माग थियो ।
पछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली फिल्मको मान्यता दिएपछि विवाद सुल्झिएको थियो । प्रेमगीत ३ हिन्दी फिचरमा विश्वभर प्रर्दशनमा आएको पहिलो नेपाली चलचित्र हो ।
प्रदीपले पाएको यो अवार्डले उनको बलिउडको ढोका खोल्न मद्धत गर्ने चलचित्र विश्लेषकहरुले अनुमान गरेका छन् । यसअघि चलचित्र प्रर्दशनकै क्रममा भारतीय चर्चित चलचित्र समीकक्षहरुले समेत उनको अभिनयको खुलेर प्रशंसा गरेका थिए ।