८ मंसिर, एजेन्सी ।
म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई फुटबल एसोसिएसनले दुई खेलमा प्रतिबन्ध लगाएको छ । अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । साथै उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ ।
मंगलबार मात्रै युनाइटेडसँग आपसी सम्झदारी सम्झौता तोडेपछि रोनाल्डो अहिले क्लबविहिन छन् । हाल विश्वकप फुटबल खेल्नका लागि रोनाल्डो पोर्चुगिज टिमसँग कतारमा छन् र बिहीबार पोर्चुगलले पहिलो खेल घाना विरुद्ध खेल्दैछ । हाल रोनाल्डो क्लबविहिन छन् । अब रोनाल्डो जाने नयाँ क्लबमा उनको प्रतिबन्ध लागु हुनेछ ।
तर महादेशीय स्तरको क्लब प्रतियोगिता च्याम्पियन लिगहरुमा भने प्रतिबन्ध लागू हुने छैन । गत अगस्टमै पुलिसले रोनाल्डोलाई यस विषयमा सचेत गराइसकेको थियो भने रोनाल्डोले पनि उक्त समर्थकसँग माफी मागिसकेका थिए ।
इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गतयुनाइटेडले एभर्टनसँग १–० गोलको हार व्यहोरेपछि रोनाल्डोले समर्थकको मोबाइल फुटाएपछि त्यो भिडियो भाइरल भएको थियो । एभर्टनसँग हारपछि मैदानबाट निस्कने क्रममा रोनाल्डोले आक्रोशित हुँदै समर्थकको फोन फुटाइदिएका थिए ।
३७ वर्षीय रोनाल्डोले सामाजिक सञ्जालमार्फत नै समर्थकसँग माफी मागेका थिए । म मेरो आक्रोशको लागि माफी माग्न चाहन्छु र, यदि सम्भव छ भने, म यो समर्थकलाई निष्पक्ष खेल र खेलकुदको संकेतको रूपमा ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चाहन्छु,’ उनले भनेका थिए ।
उनले आफूहरू कठिन क्षणमा रहेको भन्दै भावनाहरूसँग व्यवहार गर्न कहिल्यै सजिलो नहुने पनि बताएका थिए । ‘यद्यपि, हामीले सधैं आदर, धैर्य र सुन्दर खेल मन पराउने सबै युवाहरूको लागि प्रेरणा बन्नुपर्छ’, रोनाल्डोले समाजिक सञ्जालमा पोष्ट गरेका थिए ।