११ मंसिर, काठमाण्डौ ।
भारतको मुम्बई उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए३२० (आरए २०१) जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ । विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार यो जहाज बिहान ११ः३० मा भारतको मुम्बई उड्ने तयारीमा थियो । सोही अनुसार यात्रु चढाइएको थियो । तर, इन्जिन स्टार्ट हुन सकेन ।
इन्जिन स्टार्ट गर्न आवश्यक पर्ने एपीयू (एक्जिलरी पावर युनिट) को बिल्ड प्रेसरसम्बन्धी समस्या उत्पन्न भएपछि सो जहाज ग्राउण्डेड भएको छ । जहाज समयमै नउड्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५२ जना यात्रु अलपत्र परेका छन् ।
निगमको यात्रु सेवा विभागका एक उच्च अधिकारीका अनुसार मुम्बईका लागि तय गरिएको न्यारोबडी अल्फा किलो ह्विस्की विमानको इन्जिन स्टार्ट नभएपछि बाहिरबाट अर्को उपकरणको सहायताबाट इन्जिन स्टार्ट गर्नुपर्ने थियो । निगमकै ग्राउन्ड ह्यान्डलिङ विभागले एयर स्टार्ट युनिट (एएसयू) उपकरण लिएर जहाज स्टार्ट गर्न खोजेको तर उक्त उपकरण पनि बिग्रिएपछि जहाज उड्न नसकेको ती अधिकारीले बताए ।
एयर स्टार्ट युनिटको काम जहाजको एक्जिलरी पावर युनिट (एपीयू) ले काम नगर्दा बाहिरबाट इन्जिन स्टार्ट गराउन सहायता प्रदान गर्ने हो । निगमका एक निर्देशकका अनुसार अब निगमले दिल्लीबाट फर्किँदै गरेको अर्को न्यरोबडी मुम्बई पठाउने भएको छ । आइतबार नै दिल्लीबाट फर्किएको अर्को न्यारोबडी जहाजमा यस जहाजका यात्रु राखेर जहाज मुम्बई पठाउन लागिएको छ ।
जहाज मुम्बईबाट आइतबार नै काठमाडौं फिर्ता हुनेछ । काठमाडौं–मुम्बई एकफर्ती साढे दुई घण्टाको उडान समय हो । उताबाट काठमाडौं फर्किने ९० हाराहारी यात्रु छन् । इन्जिन स्टार्ट नभएको जहाजको भने प्राविधिक जाँच सुरु गरिएको बताइएको छ ।केही दिन अघि मात्र काठमाडौबाट भोजपुर उडेको निगमको ट्विनेटर जहाजमा बीच आकाशमै भाईब्रेशन भएपछि काठमाडौं फर्किएको थियो ।