१५ मंसिर, विराटनगर ।
गणनाका क्रममा विवाद भएपछि लामो समय रोकिएको तर निर्वाचन आयोगले मतगणना जारी राख्न दिएको निर्देशन पछि ढिलो गरी सुरु भएको सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की झिनो मतान्तरले विजयी भएका हुन् ।
कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए । दुईजनाबीचको मतान्तर ११२ रहेको छ । भोजपुरबाट लगातार ३ पटक चुनाव हारेपछि सुनसरी झरेका कार्कीले २०७४ मा वामगठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई हराएका थिए ।
७४ मा कार्कीको ३२हजार ३४७ मत आउँदा प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए । अघिल्लो निर्वाचनमा जस्तो यो निर्वाचनमा कार्कीलाई सहज भएन । १३५८ मत गन्न बाँकी हुँदा उनी ८२ मतले पछाडि परेका थिए । त्यो स्थितिलाई उल्टाएर उनले लगातार अग्रता कायम राखे । सुनसरी– ४ नेपाली राजनीतिको लागि महत्वपूर्ण मानिन्छ ।
यस क्षेत्रबाट पाँच पटकसम्म प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालादेखि पटकपटक सत्तामा पुगेका उपेन्द्र यादवसमेत यो क्षेत्रबाट जितेर गएका छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र र २०५६ सालमा यहीँबाट चुनाव जितेका थिए । वाम गठबन्धन हुँदा २०७४ मै सुनसरीमा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको थियो । जिल्लाका ४ क्षेत्रमध्ये ३ क्षेत्रमा आफ्ना उम्मेदवार भएको कांग्रेसका सबै उमेद्वारले जितेका थिए ।
अचानक भोजपुरबाट सुनसरी झरेर जितेका कार्कीलाई यो चुनाव झनै सजिलो हुने धेरैको तर्क थियो । पहिले काम नगरी चुनाव लड्दा जितेकोमा अहिले काम गरेको र साथमा पाँचदलीय सत्तागठबन्धनको साथ भएकोले उनको जित निश्चित हुने धेरैको तर्क थियो । तर, नतिजा हेर्दा यो आँकलन फेल खायो । कार्कीले सकसपूर्ण रूपमा जित हात पारे । कार्कीलाई एमाले नेता जगदीशप्रसाद कुसियैतले कडा टक्कर दिएका छन् ।
देउवाका विश्वासपात्र बहालवाला संघीय मन्त्रीसँग चुनाव लडेका कुसियैत प्रदेश १ का पूर्वमन्त्री हुन् । उनी २०५१ सालको मध्यावधि चुनावमा सुनसरी क्षेत्र नम्बर ५ मा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । २०५३ को उपनिर्वाचनमा भने विजयी बने । उनले कांग्रेसका हरि सापकोटालाई हराएका थिए ।
मोरङ १ र सुनसरी ५ उठेका गरिजाप्रसाद कोइरालाले दुवै क्षेत्रमा जितेपछि सुनसरी ५ छाडेका थिए । त्यही क्षेत्रमा गरिएको उपचुनावमा कुसियैतले जित निकालेका थिए । २०५६ मा सप्तरी र २०७० मा सुनसरीमा चुनाव लड्दा भने जगदीश पराजित भए । २०७४ को चुनाव जितेर उनी साढे ३ वर्ष प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बने । उनी सनुसरी जिल्ला इन्चार्जसमेत हुन् ।