Nepal Times
Nepal Times
3
Shares

विश्वकपमा नकआउटमा पुग्ने १४ टोली कुन–कुन हुन् ?

विश्वकपमा नकआउटमा पुग्ने १४ टोली कुन–कुन हुन् ?

१६ मंसिर,एजेन्सी ।
कतारमा जारी विश्वकप फुटबलमा समूह चरणअन्तर्गत अन्तिम चरणका खेल आधा सकिँदा नकआउट चरणमा जाने १४ टोलीको टुंगो लागेको छ। जसमा समूह ‘ए’बाट नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका छन्। नेदरल्याण्ड्स ७ अंकसहित सममूह विजेता बनेर अन्तिम १६ मा पुगेको हो। सेनेगल भने ६ अंकसहित समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो।

यो समूहबाट आयोजक कतार र इक्वेडर बाहिरिएका छन्। कतार अन्तिम खेलअघि नै बाहिरिएको हो। कतारले सबै ३ खेल हारेको छ। इक्वेडर भने ४ अंक जोड्नका बाबजुद समूहमा तेस्रो हुँदै बाहिरिएको हो। यस्तै, समूह ‘बी’बाट इंग्ल्याण्ड र अमेरिकाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् । इंग्ल्याण्ड ७ अंकसहित समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्दा अमेरिका ५ अंकसहित उपविजेता बनेको हो।

यो समूहबाट वेल्स र इरान बाहिरिएका छन्। यसैगरी, समूह ‘सी’बाट अर्जेन्टिना र पोल्याण्ड प्रि–क्वार्टरफाइनलमा पुगेका छन्। अर्जेन्टिना ६ अंकसहित समूह विजेता बन्दा ४ अंक जोडेको पोल्याण्ड उपविजेता बनेको हो। यो समूहबाट साउदी अरेबिया र मेक्सिको बाहिरिएका छन्। एसियाली राष्ट्र साउदी अरेबिया पहिलो खेलमा दाबेदार अर्जेन्टिनालाई पराजित गर्नका बाबजुद बाँकी २ खेल हारेपछि प्रतियोगिताबाट बाहिरिएको हो।

यस्तै, मेक्सिको पोल्याण्डसँग समान ४ अंक हुनका बाबजुद गोल अन्तरका आधारमा पहलो चरणबाटै बाहिरिएको छ । यसैगरी, समूह ‘डी’बाट फ्रान्स र एसियाबाट छनोट भएर विश्वकप खेलेको अष्ट्रेलिया अन्तिम १६ मा पुगेका छन्। फ्रान्स ६ अंकसहित समूह विजेता बन्दा अष्ट्रेलिया ६ अंक बनाउनका बाबजुद गोल अन्तरमा पछि पर्दै उपविजेता बनेको छ।

यो समूहबाट डेनमार्क र ट्युनिसिया बाहिरिएका छन्। साविक विजेता फ्रान्सलाई अन्तिम खेलमा पराजित गर्नका बाबजुद ट्युनिसिया बाहिरिएको हो। समूह ‘ई’मा अप्रत्यासित रुपमा एसियाली राष्ट्र जापान समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। जर्मनी र स्पेनजस्ता बलिया टोलीलाई हराएको जापानले ६ अंक जोड्दै अन्तिम १६ मा पुगेको हो।

यो समूहमा अन्तिम खेल गएराति जापानसँग २–१ ले हार्नका बाबजुद स्पेन ४ अंकसहित उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। यो समूहमा समान ४ अंक जोड्नका बाबजुद चार पटकको विश्व विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ। यसैगरी, मात्र ३ अंक जोडेको कोस्टारिका पनि अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

यस्तै, समूह ‘एफ’मा पनि अप्रत्यासित नतिजा आएको छ। अफ्रिकन टोली मोरक्को ७ अंकसहित समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। यसैगरी, बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै साविक उपविजेता क्रोएसिया ५ अंकका साथ उपविजेता नै बनेको छ। यो समूहबाट दाबेदार मानिएको बेल्जियम मात्र ४ अंक जोडेर तेस्रो स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएको छ। यस समूहका अंकविहीन रहेको क्यानडा यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो।

अब ‘जी’ र ‘एच’का अन्तिम खेलहरू हुन बाँकी छन् । तर, समूह ‘जी’ र ‘एच’बाट एक खेलअगावै ब्राजिल र पोर्चुगल अन्तिम १६ मा पुगिसकेका छन्। सबै १६ टोलीको टुंगो शुक्रबार मध्यराति लाग्नेछ। हालसम्म १२ टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । अब आजका खेलबाट दक्षिण कोरिया, उरुग्वे, स्वीट्जरल्यान्ड, सर्विया, घाना, क्यामरुन बाट थप दुई टिम अन्तिम १६मा पुग्नेछन् भने ४ टिम घर फर्किनेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.