मागेकै पैसाले रविन्द्रले २४ लाखमा चुनाव सके

२० मंसिर, काठमाण्डौ ।
काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका रवीन्द्र मिश्रले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। निर्वाचनका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमानसिंह सँग झिनो मतान्तरले पराजित भएका मिश्रले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावी खर्च साढे २४ लाख भएको जानकारी दिएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दिएका उनले २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। उनले चुनावी खर्च गर्न सार्वजनिक रूपमा आर्थिक सहयोगका लागि अपिल गरेका थिए। २०७४को चुनावमा पनि उनले साढे २१ लाख खर्च गरेका थिए। आयोगले काठमाडौं–१मा २५ लाख खर्च गर्न पाउने सीमा तोकेको थियो।

उक्त रकम जम्मा भएपछि आफूले भिडिओ सन्देशमार्फत सहयोग नगर्न पनि भनेका थिए। त्यसपछि पनि रकम आएर कूल ३३ लाख जम्मा भएको उनले जानकारी दिएका छन्। र बाँकी रहेको साढे ८ लाख काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोषमा राखिने उनले उल्लेख गरेका छन्।

Advertisement

खर्च सार्वजनिक गर्दै मिश्रले लेखेका छन्, हालै सम्पन्न निर्वाचनमा मैले काठमाडौँ क्षेत्र नं एकबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा गर्ने क्रममा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको छु।

मलाई यो उल्लेख गर्दा खुशी लाग्छ कि सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा मैले रू २१ लाख ५० हजार खर्च गरेको थिएँ र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम मेरो पार्टीलाई बुझाएको थिएँ। पहिलेजस्तै यस पटक पनि निर्वाचन लड्न मैले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थिएँ।

Advertisement

निर्वाचन आयोगले तोकेको खर्च सीमा रू २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ। त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग रू ३३ लाख हुन गएको छ। उनले थप लेखेका छन्, यस पटक निर्वाचन खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार ’काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जानेछ।

मिश्रले निर्वाचनमा करोडौँ करोडको अपारदर्शी खर्चका कारण झनझन चुनावी विकृति बढिरेहको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top