१ पौष ,काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरेकी छिन् । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन बुझाइसकेकाले राष्ट्रपतिले सरकार गठनको आह्वानको तयारी गरेकी हुन् । केही दिनमै दलहरुलाई बहुमतसहित सरकारको दाबी गर्न आह्वानको तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले राष्ट्रपति भण्डारीले गृहकार्य सुरु गरेको जानकारी दिँदै सम्भवतः भोलि आइतवार सरकार गठनका लागि आह्वान हुनसक्ने बताएका छन् । प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पुर्याउन आह्वान गर्ने सम्भावना रहेको बताएका छन् ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनको लागि १ सय ३८ सांसदको आवश्यकता पर्छ । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकार गठनको तयारीमा जुटिरहेका छन् । यसैबीच, कांग्रेस पार्टीभित्र छलफलको तयारी गरेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति देउवाले नयाँ सरकार गठनसहितका विषयमा छलफल गर्न आज सांसदसहितको बैठक बोलाएका छन् ।
आज दिउँसो ३ बजे बस्ने बैठकमा सरकार गठन र राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका पदको विषयमा पनि छलफल हुनेछ । कांग्रेसले माओवादी समेतलाई विश्वासमा लिएर राष्ट्रपति को बन्नेभन्दा पनि कस्तो बन्ने भन्ने विषयमा गम्भीरतापूर्वक ध्यान दिएर निर्णय गर्ने महामन्त्री शर्माले बताएका छन् ।
सत्ता गठबन्धनबाट प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नलागेपनि वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ फेरि प्रधानमन्त्री बन्ने तयारीमा छन् । गठबन्धनबाटै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने कसरत गरेकाले देउवाले संसदीय दलको नेता चयन नभएसम्म पर्खन भनेका छन् । तर धारा ७६ (२) अनुसार प्रधानमन्त्री बन्न संसदीय दलको नेता चयन भइराख्न आवश्यक छैन ।
त्यसैले देउवा र प्रचण्डबीच सहमती बनेको अवस्थामा कांग्रेस वा माओवादीको संसदीय दलको नेता चयन नभइ प्रधानमन्त्री नियुक्तिका लागि बहुमत रहेको दाबी राष्ट्रपति समक्ष गर्न सक्नेछन् । त्यस्तै यदि अहिलेको सत्ता गठबन्धनमा सहमति भएन र अर्को गठबन्धन बनेको अवस्थामा पनि यही प्रक्रिया लागू हुन सक्नेछ ।
यसअघि २०७४ मा केपी ओली पनि धारा ७६ (२) अन्तर्गत संसदीय दलको नेता चयन नभइ एमाले र माओवादीको समर्थनमा बहुमत जुटाएर प्रधानमन्त्री नियुक्त भएका थिए । ओली पछि मात्रै एमाले संसदीय दलको नेता चयन भएका हुन् ।