३ पौष ,एजेन्सी ।
उत्तर कोरियाले एक पटक फेरि पश्चिमी देशहरु तथा अमेरिकाको चेतावनीका बावजुद आइतबार २ वटा ब्यालेष्टिक मिसाइल प्रहार गरेको छ । कोरियाली प्रायद्वीपको पूर्वी तटबाट उत्तरले समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उक्त जानकारी दिएको हो ।
जापानका उपविदेशमन्त्री तोशिरो इनोले उत्तर कोरियाले प्रहार गरेको ब्यालेस्टिक मिसाइल जापानको विशेष आर्थिक करिडोर बाहिर खसेको हुनसक्ने बताए । जापानी रक्षा मन्त्रालयका अनुसार यी क्षेप्यास्त्र ५५० किलोमिटर (३४२ माइल) को उचाइमा उडेका र २५० किलोमिटर (५३ माइल) को दूरी तय गरेका थिए । हालसम्म कुनै क्षतिको खबर नआएको उप रक्षामन्त्रीले बताए ।
तीन दिन पहिले विहीबार उत्तर कोरियाले एक नयाँ सामरिक हतियार हाई–थ्रस्ट सोलिड–फ्युल मोटर को पनि परीक्षण गरेको थियो । यस लगत्तै आइतबार २ मिसाइल छोडेको हो । विज्ञहरूका अनुसार यसले ब्यालेस्टिक मिसाइललाई छिटो प्रक्षेपण गर्न मद्दत गर्छ । यो परीक्षणमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको पनि नजर थियो ।
उत्तर कोरियाले यो वर्ष अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सहित धेरै क्षेप्यास्त्र परीक्षण गरेको छ । उक्त क्षेप्यास्त्र अमेरिकी भूमिसम्म पुग्न सक्ने क्षमताको भएको बताइएको छ । पछिल्ला केही महिनामा उत्तर कोरियाले परमाणु सम्पन्न ब्यालेष्टिक मिसाइलहरुको परिक्षण गरेको थियो । जसमा उसको लामो दुरीको हवासोंग १७ अन्तरमहादेशिय ब्यालेष्टिक मिसाइल (आईसीबीएम) पनि सामेल थियो ।
केही विशेषज्ञहरुका अनुसार उत्तर कोरियाले आफ्नो हतियारहरुको परिक्षण किन पनि तिव्र पारिरहेको छ भने यसैबाट उसले आफूमाथि लागेको प्रतिबन्ध हटाउन र अन्य छुटका लागि अमेरिकालाई दबाव दिन चाहेको छ । यद्यपी उत्तर कोरियाको परमाणु हमलाको क्षमताको स्थिति कस्तो छ अहिलेसम्म यकिन हुन सकेको छैन ।