३ पौष, एजेन्सी ।
हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको इरानी सञ्चार माध्यमहरुले जनाएका छन् । चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन् । उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म “द सेल्सम्यान“ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन् ।
इरानको सरकारी सञ्चारमाध्यम इर्नाका अनुसार तरानेहलाई प्रदर्शनका सम्बन्धमा ‘झुट फैलाएको’ आरोपमा पक्राउ गरिएको हो । गत हप्ता, तरानेह अलिदोस्तीले हिजाब विरुद्धको विरोधको समर्थनमा उनको इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । उनले इन्स्टाग्राममा हिजाब बिनाको आफ्नो तस्बिर राखेर आन्दोलनमा संलग्न भएको भन्दै मोहसेन शेकरी नामका व्यक्तिलाई दिइएको मृत्युदण्डको पनि आलोचना गरेकी थिइन् ।
मोहसेन शेखरीलाई ‘दंगा’ गरेको आरोपमा मृत्युदण्ड दिइएको थियो । मोहसेनले सेप्टेम्बरमा राजधानी तेहरानमा एउटा मुख्य सडक अवरुद्ध गरेर एक अर्धसैनिक सिपाहीलाई घाइते बनाएका थिए । इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन् ।
यस्तै अभिनेत्री तरानेहले आफ्नो पोस्टमा मोहसेन शेखारीको सजायको विरुद्धमा केही नबोलेको भन्दै केही अन्तर्राष्ट्रिय संस्थालाई पनि निशाना बनाएकी थिइन् । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘उनको नाम मोहसेन शेकरी हो । यो रक्तपात देखेर कुनै कारबाही नगर्ने हरेक अन्तर्राष्ट्रिय संस्थाले मानवतालाई कलंकित गर्न लागेको छ ।’
एर्नाको टेलिग्राम अकाउन्टमा भएको पोष्टका अनुसार तरानेहले आफ्नो दाबीको सम्बन्धमा कुनै कागजात उपलब्ध गराउन नसकेको कारण पक्राउ गरिएको हो । तरानेहको ८० लाख फलोअर्स भएको इन्स्टाग्राम अकाउन्टमा प्रतिबन्ध लगाइएको छ ।
इरानमा मोरालिटी प्रहरीको हिरासतमा महसा अमिनीको मृत्यु भएपछि महिला अधिकारका लागि हिंसात्मक प्रदर्शन भइरहेको छ । अभिनेत्री तरानेह आन्दोलन सुरु भएदेखि नै सरकारको कडा आलोचक हुन् ।