७ पौष,एजेन्सी ।
युक्रेनमा जारी युद्धको बीचमा रुसका रक्षामन्त्रीले देशको सैनिकको संख्या १० लाखबाट बढाएर १५ लाख पु¥याउने बताएका छन् । रक्षामन्त्री सर्गेई शोइगुले बुधबार भने कि यसमा ६,९५,००० स्वयम्सेवक अनुबंध सैनिकहरू समावेश हुनुपर्नेछ। यद्यपी सेनाले यो संख्या कहिले बढाउने योजना बनाएको भन्ने चाँही उल्लेख गरेका छैनन् ।
युक्रेन युद्धका कारण रुसी सेनाले ठूलो क्षति बेहोरेको छ । यसको क्षतिपूर्तिको लागि, रूसले पहिले नै ठूलो मात्रामा सेना भर्ती गर्ने योजना बनाइरहेको थियो। यसैबीच भ्लादिमिर पुटिनले युक्रेनमा जारी विशेष सैन्य कारबाहीमा आफूहरुले मात्रै जित्ने बताएका छन् । उनले युक्रेनमा भएको अपरेशनले रुसी सेनाका कमजोरीहरू उजागर गरेको पनि स्वीकार गरेका छन् ।
अमेरिका भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रुससँग कहिल्यै आत्मसमर्पण नगर्ने बताएलगत्तै पुटिनको ब्यक्तब्य आएको हो । रुसी रक्षामन्त्री शोइगुले फिनल्याण्ड र स्वीडेनको उत्तर एट्लान्टिक सन्धि संगठन –नेटो) मा सामेल हुने योजनालाई ध्यानमा राख्दै रुसी सेनाले देशको पश्चिममा नयाँ इकाइहरू स्थापना गर्ने बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उच्च सैन्य अधिकारीहरुबीच भएको भेटमा रक्षामन्त्रीले यो जानकारी दिएका हुन् । पुटिनले छिट्टै सेना भर्ती गर्ने आदेशमा हस्ताक्षर गर्न सक्नेछन्। यसपछि रुसका विभिन्न क्षेत्रमा सैनिक भर्तीको आयोजना गरिनेछ ।
युक्रेनी रक्षा मन्त्रालयले यस लडाइमा अहिलेसम्म ९० हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ ।युक्रेनले आफ्नो वेबसाइटमा जारी गरेको तथ्यांकमा रुसी सेनाका हजारौं ट्याङ्क, बख्तरबन्द गाडी र तोप नष्ट भएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले भने युक्रेन युद्धमा मारिनेको संख्या १० हजारभन्दा बढी रहेको बताएको छ ।