१५ पौष, विराटनगर ।
नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको नेतामा काग्रेस प्रदेश १ का सभापति समेत रहेका समानुपातिक सांसद उद्धब थापा निर्वाचित भएका छन् । थापाले २९ सांसदमध्ये १८ जनाको मत पाए का छन् भने अर्का उम्मेद्वार केदार कार्कीले ९ र अमृत अर्यालले मात्र २ मत पाएका छन् । निर्वाचित भएका थापा काँग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् ।
यस्तै कार्की संस्थापन इतर पक्ष (शेखर कोइराला)का हुन् । उनले अपेक्षित नै परिणाम हात पारेका छन् । तर, संस्थापन पक्षकै नेता अर्यालले भने अनपेक्षित मत हात पारे । अझै भन्ने हो भने अर्यालले आफू, प्रस्ताव र समर्थकमध्ये एक जनाको मत पाएनन् ।
अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरुङ (राम) थिए । दुवै जना समानुपातिक सांसद हुन् । संस्थापन पक्षले एक जनामात्रै उम्मेदवार बनाउन गरेको प्रयास विफल भएपछि दुई जनाले नै उम्मेदवारी दर्ता गरेका थिए ।
९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् । कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ । त्यसका लागि १५ मत आवश्यक पर्छ । तर, थापाले भने पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत पाउँदा अर्यालले भने लज्जास्पद हार व्यहोर्नु पर्यो ।
कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै थियो । देउवा समूहले सिटौला समूहलाई सहयोग गर्दा थापाको जित सहज बन्यो भने आफ्नै पक्षका नेता अर्यालको लज्जास्पद पराजय भयो ।
निर्वाचन परिणामपछि समर्थक र प्रस्तावककै मत नआएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्ता अन्तर्घात भएको भन्दै आक्रोशित बनेका छन् । परिणामपछि अर्याल कुनै प्रतिक्रिया नदिई निर्वाचनस्थलबाट हिँडेका छन् । अर्याल सभापति देउवाका विश्वास पात्रका रुपमा चिनिन्छन् ।
सत्ता समीकरण फेरिनुअघिसम्म प्रदेश १ मा संस्थापन पक्षका सांसदहरू बढी रहेको चर्चा थियो । २९ मध्ये १२ जना संस्थापन पक्षका सांसद देखिएका थिए । निर्वाचनमा विजयी भएका उद्धव थापाको पक्षमा ९ र कोइराला पक्षका केदार कार्कीको पक्षमा ८ सांसद रहेको चर्चा थियो ।
तर, गठबन्धन भत्किएसँगै समीकरण फेरिएर सिटौलाको पक्षमा मत बढेको चुनावी नतिजाले देखाएको छ । दलको नेता बनेका थापालाई देउवाका विश्वास पात्रहरू ज्ञानेन्द्र कार्की र रामेशजंग रायमाझीले काँध हालेका थिए । संस्थापन पक्षका नेताका रूपमा चिनिएका प्रदेश १ का प्रभावशाली नेताहरू रामहरी खतिवडा र विजय गच्छदारले समेत थापालाई सहयोग गर्दा संस्थापन पक्षले लज्जास्पद हार व्यहोर्नुपरेको हो ।