२३ पौष ,एजेन्सी ।
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले अर्काे प्रिमियर लिग क्लब एभर्टनलाई ३–१ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो । घरेलु मैदानमा युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
एभर्टनका कोनर कोडीले एक गोल फर्काए । ओल्ड ट्राफोर्डमा शुक्रबार राति भएको खेलको चौथो मिनेटमा एन्टोनीको गोलबाट युनाइटेडले १–० को अग्रता लिन सफल भयो । उनले मार्कस रासफर्डको पासमा गोल गर्न सफल भएका थिए । १४औं मिनेटका कोनर कोडीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५२औं मिनेटमा कोनर कोडीले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मार्कस रासफर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–१ को सहज जित दिलाए ।
बेन गुडफ्रेले एलेहान्द्रो गर्नाचोमाथि फउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा रासफर्ड चुकेनन् । यता स्टार फरवार्डत्रय लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेविनै जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको अघिल्लो चरणमा प्रवेश गरेको छ ।
तेस्रो डिभिजनको च्याटाउरोक्समाथि ३–१ को सहज जित हात पार्दै पिएसीले अघिल्लो चरणको यात्रा तय गरेको हो । पिएसजीको जितमा ह्युगो इटिके, कार्लाेस सोलेर र जुआन बर्नाटले गोल गरे । च्याटाउरोक्सका नाटानिएल एन्टोलाले एक गोल फर्काए ।
च्याटाउरोक्समा शुक्रबार राति भएको खेलको १३औं मिनेटमा इटिकेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । ३७औं मिनेटमा नाटानिएल एन्टोलाले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । ७८औं मिनेटमा कार्लाेस सोलेरले गोल गर्दै पिएसजीलाई २–१ ले अघि बढाए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जुआन बर्नाटले गोल गर्दै पिएसजीलाई ३–१ को जित दिलाए ।सादोरोउविरुद्ध प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले स्टार फरवार्डत्रय लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई विश्राम दिदा १६ वर्षीय वारेन जाइरे एमरी, १८ वर्षीय इस्माइल घरवीलाई मौका दिएको थियो । पहिलो हाफमा १–१ गोलको बराबरीपछि ग्याल्टियरले दोस्रो हाफमा अनुभवी डिफेन्डर सर्जियो रामोस र फाबियन रुइजलाई मैदानमा पठाएको थियो ।