८ माघ,एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । एनफिल्डमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिन पुग्यो ।
खेलको तेस्रो मिनेटमा नै काई हाभर्टजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा चेल्सीले अग्रता लिन सकेन । उक्त गोलको मुभमा भिएआरले अफसाइड देखाएको थियो । यसै खेलमार्फत युवा मिडफिल्डर मिखाइदो मुड्रिकले चेल्सीसँगै प्रिमियर लिगमा डेब्यु गरेका छन् ।
२२ वर्षीय विंगर फरवार्ड गत साता युक्रेनी क्लब साख्तर डोनेस्कबाट चेल्सीमा अनुबन्धित भएका थिए । यस बराबरीसँगै लिभरपुल १९ खेलबाट २९ अंक जोडेर आठौं स्थानमा यथावत रहँदा चेल्सी २० खेलबाट २९ अंक जोडेरै १०औं स्थानमा रहेको छ । यस्तै गएराति भएको अर्को खेलमा एस्टन भिल्ला र वेस्ट ह्याम विजयी भएका छन् ।
एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० तथा वेस्ट ह्यामले एभर्टनलाई २–० गोलले हरायो । अरु ३ खेल पनि बराबरीमा सकिएका छन् । लेस्टर सिटी र ब्राइटन, क्रिस्टल प्यालेस र न्युक्यासल तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले बराबरी खेलेर अङ्क बाँडेका छन् । क्रिस्टल प्यालेस र न्युक्यासलले गोलरहित बराबरी खेलेका हुन् । त्यस्तै लेस्टर सिटी र ब्राइटनले २–२ तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले १–१ गोलको बराबरी खेलेका हुन् ।