८ माघ,काठमाण्डौ ।
राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट भारतीय (आई लिग) खेल्न शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्। चर्च ब्वाइज युनाइटेड क्लबकासमेत फरवार्ड रहेका विष्टले मुम्बई केन्क्रे एफसीबाट आइ लिग खेल्ने भएका हुन् । उनी पहिलो पटक देश बाहिर व्यवसायिक फुटबल खेल्नका लागि गएका हुन् ।
यो अवसरलाई अन्जनले आफूलाई थप प्रमाणित गर्ने अवसरको रुपमा लिएको बताएका छन् । राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहेका उनी घरेलु फुटबलको सर्वाधिक सफल टोलीमध्येको एक मनाङ मस्र्याङ्दी क्लब छाडेर यसै सिजन चर्च ब्वाइजमा आबद्ध भएका थिए ।
चर्च ब्वाइजले सहजै रिलिज दिएको उनले बताए । आइ लिगका बाँकी खेल सकेर फर्कने योजना रहेको उनी बताउँछन् । ‘सहिद स्मारक ए डिभिजन लिगको एक दुई राउन्ड छुट्न सक्छ । आइ लिग सकिने वित्तिकै फर्कने योजनामा छु,’ उनले बनेका छन्, म व्यक्तिगत पहलमै आइ लिग क्लबसँग जोडिएको हु ।’
राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ राउन्डग्लास पन्जाब एफसीबाट आइ लिग खेलिरहेका छन् । अब आइ लिगमा किरण र अन्जनको सामना हुने सम्भावना रहन्छ । केन्क्रेले सोमबार आइ लिग अंकतालिका को शीर्ष टोली श्रीनिदी डेकेनसँग प्रतिस्पर्धा गर्नेछ ।
डेकेनले अघिल्लो खेलमा पन्जाबलाई ४–० ले हराएको थियो । २५ अंकसहित डेकन शीर्षस्थानमा, २३ अंक जोडेको पन्जाब दोस्रो स्थानमा र केन्क्रे १६ अंकसहित नवौं स्थानमा छ । आइ लिगमा १२ टोलीको सहभागिता रहेको छ ।
आफ्नो पुस्तामा आइ लिग खेल्ने अन्जन तेस्रो खेलाडी बनेका छन् । विमल घर्तीमगर केहि वर्षअघि र गत वर्ष अनन्त तामाङले आइ लिग खेलेको थिए । अन्जनले राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका छन् । उनले पछिल्ला दुई मैत्रीपूर्ण खेलमा ४ गोल गरेका थिए ।