१० माघ, काठमाण्डौ ।
समाजमा नकारात्मक असर सन्देश जाने गरी संचालन गरिएको भन्दै रूपन्देहीको भैरहवामा सञ्चालित जेल रेस्टुरेन्ट एण्ड बारलाई प्रशासनले बन्द गराएको छ । रेस्टुरेन्टमा जेलजस्तो हिरासत, नक्कली बन्दुक पड्काउने र झुण्डिएर आत्महत्या गरेको ‘डेमो’ जस्तो देखाउने गरिएपछि रेस्टुरेन्ट बन्द गराइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक (इन्पेक्टर) दीपक कुँवरले बताएका छन् ।
३ महिना अगाडिदेखि सञ्चालनमा आएको रेस्टुरेन्ट सामाजिक सञ्जाल र टिकटकमा भाइरल भएको थियो । स्थानीय देवकोटाचोकस्थित जेल रेस्टुरेन्टमा पुग्ने ग्राहकलाई लक्षित गरी रेस्टुरेन्टका कोठाहरू जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेस्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताएका छन् ।
उनले स्थानीय मिडियाबाट रेस्टुरेन्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराइएको बताएका छन् । सहायक प्रजिअ अर्यालले रेस्टुरेण्ट बन्द गर्न लगाई मंगलवार जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताएका छन् । उनले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने पनि बताएका छन् ।
फरक शैलीको नाममा जेलको आकारमा रेस्टुरेन्ट बनाइएको र यसले समाजमा नकारात्मक असर पुगेको पाइएकाले बन्द गर्नुपरेको अर्यालले बताएका छन् । रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र डोरी लगायतका पासो प्रशासनले जफत गरेको छ । रेस्टुरेन्टबारे टिकटकमा आएका भिडिओ भाइरल छन् । भिडिओमा कमेन्ट गर्ने अधिकांशले यस रेस्टुरेन्टको विरोध गर्दै आएका थिए ।