२० माघ, काठमाण्डौ ।
नेपाली सेनाले अब आफूलाई आवश्यक पर्ने बुट आफै उत्पादन गर्ने भएको छ । सेनाले आफ्ना कर्मचारीका लागि आफैँ जुत्ता उत्पादन गर्ने भन्दै कम्पनी दर्ता गरेर जुत्ता कारखाना सञ्चालनमा ल्याएको छ । काठमाडौैंको सुन्दरीजलमा स्थापना गरिएको मसिनरी प्लान्टले वार्षिक साढे ८७ हजार जोर बुट एतपादन गर्ने लक्ष्य लिएको छ ।
कम्पनीको नाम नेपाली सेना बहुव्यवसाय उद्योग राखिएको र सेनाको कल्याणकारी बोर्डबाट ऋण लिएर उद्योग स्थापना गरिएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताएका छन् । नेपाली सेनाको पहिरन तथा बन्दोबस्तीका सामग्रीहरू उत्पादन क्षमता अभिवृद्धि गर्ने लक्ष्यअनुरूप जुत्ता कारखाना स्थापना गरिएको बताउदै प्रवक्ता भण्डारीले ‘नाफा वितरण नगर्ने उद्देश्यले उद्योग स्थापना भएको बताएका छन् ।
उनले यसले उत्पादन गरेका जुत्ता बजारमा बिक्री नहुने र आन्तरिक खपतका लागि मात्रै प्रयोग हुने बताएका छन् । सेनाको जुत्ता कारखाना स्वाट कम्पनीको ट्रेडमार्क रहेको ‘ओरिजिनल फुटवेयर कम्पनी’सँगको प्राविधिक सहकार्यमा स्थापना गरिएको छ । उक्त कम्पनीसँग प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर नै गरेर सेनाले कारखाना स्थापना गरेको हो ।
सेनाले कारखानामा करारमा कर्मचारी नियुक्त गरेको छ । सो कम्पनी सञ्चालनका लागि सेनाले उद्योग विभागबाट समेत अनुमति लिएको छ । सेनाले यसअघि विदेशी कम्पनीले उत्पादन गरेका सैनिक बुट टेन्डरमार्फत खरिद गर्दै आएको थियो । उद्योग स्थापना भएपछि जुत्ता खरिदको ठूलो रकम बचत हुने, सैनिकले गुणस्तरीय जुत्ता लगाउन पाउने र रोजगारीसमेत सिर्जना हुने सैनिक अधिकारीले बताएका छन् ।
सैनिकका लागि बुट खरिदमा वार्षिक करिब १० करोड रुपैयाँ खर्च हुँदै आएको छ । जुत्ताका लागि आवश्यक कच्चा पदार्थ भने सेनाले विदेशबाट नै ल्याउनुपर्ने अवस्था छ । कच्चा पदार्थ आयात गर्दा पनि जुत्ता खरिदभन्दा आफैँ उत्पादन गर्दा धेरै सस्तो पर्ने सेनाको आकलन छ ।
बुट मात्र नभई उद्योगमा सेनालाई आवश्यक अन्य जुत्ताहरू पनि उत्पादन गर्ने सेनाको तयारी छ । नेपाली सेना विगतमा कतिपय ठेक्का र व्यापारिक गतिविधिका कारण विवादमा पर्दै आएको छ । सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पेट्रोल पम्प, विद्यालय तथा कलेज संचालन गर्दै आएका छन् ।