२८ माघ,एजेन्सी ।
अमेरिकासहित केही देशहरुका आकाशमा एक्कासी देखिएको चिनियाँ बेलुनको घटना सेलाउन नपाउँदै अलास्काको उत्तरी तटमाथि अर्को अपरिचित वस्तु देखिएको छ, जसलाई अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको छ । निकै उचाइमा देखा परेको एक अपरिचित वस्तुलाई उत्तर ध्रुवीय महासागरमाथि अमेरिकी लडाकु विमान एफ–२२ ले क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको जनाइएको छ ।
उक्त वस्तु कहाँबाट आएको थियो भन्ने थाहा हुन सकेको छैन । वासिङ्टनले ‘चिनियाँ जासुसी बलुन’ भन्दै त्यसलाई उसको सेनाले अमेरिकी जल क्षेत्रमा खसालेको झण्डै एक सातापछि यो घटना बाहिर आएको हो । अमेरिकी सेनालाई उदृत गर्दै बीबीसीले एउटा सानो आकारको कारजत्रो उक्त वस्तुका भग्नावशेष सङ्कलनको काम भइरहेको जनाएको छ ।
क्यानडाकी रक्षा मन्त्री अनिता आनन्दले आफ्नो देशले उक्त वस्तुको अवस्थिति थाहा पाउन एक विमान पठाएर सहयोग गरेको बताएकी छन् । उक्त वस्तुलाई खसाल्नका लागि शुक्रवार राष्ट्रपति जो बाइडनले आदेश दिएको ह्वाइटहाउसले जनाएको छ । ह्वाइटहासका प्रवक्ता जोन किर्बीले मानवरहित उक्त वस्तु “एउटा सानो कारजत्रो“ भएको र त्यो नागरिक उड्डयनमा “उचित खतरा“ उत्पन्न गर्ने देखिएको बताएका छन् ।
उक्त वस्तु कुन प्रयोजनसाथ थियो भन्ने समेत थाहा नभएको किर्बीले बताएका छन् । किर्बीका अनुसार उक्त वस्तु अलास्काको उत्तरी तटमाथि ४० हजार फिट (झण्डै १२,००० मिटर) को उचाइमा उडिरहेको थियो । त्यसअघि सो वस्तु अलास्कामाथि २० देखि ४० माइल प्रतिघण्टाको गतिमा उडिसकेको थियो र त्यसमा गोली प्रहार गरेर खसाल्दा त्यो साउथ क्यारोलाइनाको तटबाहिर थियो ।
त्यसको भग्नावशेष सङ्कलनका लागि बफर्ट सागरमा हेलिकप्टर र विमानहरू परिचालन गरिएका छन् । “यो कसको स्वामित्वमा छ, राज्य वा कम्पनीको वा कसैको निजी भन्ने हामीलाई थाहा छैन,“ किर्बीले भने । उक्त वस्तु सबैभन्दा पहिले बिहीवार राती देखिएको थियो । ह्वाइटहाउस प्रवक्ता किर्बीले दुई लडाकू विमानहरू उक्त वस्तु नजिकै पुगेर त्यसमा कोही मानिसहरू नभएको सुनिश्चित गरेको जनाएका छन् । जसलगत्तै बाइडनले त्यसलाई खसाल्ने आदेश दिएका थिए ।