२९ माघ, काठमाण्डौ ।
नेपालको पश्चिमी क्षेत्रमा हाल पश्चिमी वायुको प्रभाव बढ्दै गएको छ। जसका कारण आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई भेग र कर्णालीको दक्षिणी पहाडी भेगमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना छ ।
दिउँसो १२ बजेपछि यी क्षेत्रमा तीव्र गतिमा हावा चल्ने अनुमान गरिएको उनले बताए । उनका अनुसार हावाहुरी ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने अनुमान छ । पश्चिमी वायुको प्रभावले काठमाण्डौसहित अन्य क्षेत्रमा पनि हावा चल्ने अनुमान छ ।
तर, सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा जस्तो अन्य ठाउँमा तीव्र गतिमा हावा नचल्ने मौसमविद् श्रेष्ठले बताएका छन् । हावाहुरीले सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा क्षति गर्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । दिउँसोको समयमा घर बाहिर हिँडडुल गर्दा सतर्कता अपनाउन सुझाव दिइएको हो ।
हावाहुरी चलेको समयमा सकेसम्म घरभित्रै बस्न मौसमविद् श्रेष्ठको सल्लाह छ । १३ देखि २२ किलोमिटर प्रति घण्टाको गतिमा चल्ने हवाहुरीलाई सामान्य मानिन्छ । तर, ४० देखि ५० किलोमिटर प्रतिघण्टामा हावा चल्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।
आज प्रदेश नम्बर १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको अनुमान छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी आज प्रदेश. १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।