८ फागुन,एजेन्सी ।
अमेरिकी आकाश पुगेको चिनियाँ बेलुन अमेरिकाले खसालेपछि सम्बन्ध थप चिसिएका बेला दुई देशबीच उच्च तहमा भेटवार्ता भएको छ । शनिबार चिनियाँ शीर्ष कुटनीतिज्ञ वाङ यी र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता भएको छ । तर यो भेटमा पनि उनीहरुले एकअर्कालाई चेतावनीयुक्त आग्रह गरेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन विरुद्ध युद्धमा रहेको रुसलाई घातक हतियारको सहयोग नगर्न आग्रह गरेका छन् । चीनले रुसलाई थुप्रै घातक हतियार दिने योजना बनाएको दाबी गर्दै ब्लिङ्केनले त्यस्तो काम गरेको खण्डमा अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउने सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनले रुसलाई उपलब्ध गराउन लागेका हतियारहरुको विस्तृत विवरण अमेरिकाले छिट्टै सार्वजनिक गर्ने पनि ब्लिङ्केनले दाबी गरे । चीनले भने पश्चिमा देशहरुलाई युद्ध अन्त्य गर्ने बाटो खोज्न आग्रह गर्ने जनाएको छ । ब्लिङ्कनले शनिवार म्युनिख सुरक्षा सम्मेलनमा चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीसँग भेट गरेपछि सीबीएस न्यूजसँग कुराकानी गर्दै चीनलाई पुनः चेतावनी दिएका थिए ।
ब्लिङ्कनले चिनियाँ कम्पनीहरूले पहिले नै रुसलाई गैरघातक सहयोग उपलब्ध गराउँदै आएको र नयाँ सूचनाले बेइजिङले मस्कोलाई घातक खालका सहयोग पनि प्रदान गर्न सक्ने सङ्केत दिएको बताए । यदि चीनले त्यसो गरे त्यसको परिणाम गम्भीर हुने चेतावनी उनले दिएका छन् ।
चीनले भने मस्कोले सैन्य उपकरण माग गरेको समाचारलाई अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयले रुससँगको सम्बन्धलाई लिएर अमेरिकाको औँला ठड्याउने र जबरजस्ती गर्ने कार्यलाई स्वीकार नगर्ने बताएको छ । तर अमेरिकाले भने रुसको अर्थतन्त्रलाई कमजोर बनाउनका लागि लगाइएका पश्चिमी प्रतिबन्धबाट बच्न पनि रुसलाई चीनले सहयोग गरेकोमा आपत्ति जनाएको छ ।
रुससँग चीनको व्यापार बढ्दै गएको छ र यो रुसी तेल, ग्यास र कोइलाको सबैभन्दा ठूलो बजार पनि हो । चीनले रुसले युक्रेनमा आक्रमण गरेको विषयमा निन्दा गरेको छैन । तर उसले यो द्वन्द्वमा तटस्थ रहन खोज्दै शान्तिका लागि आह्वान गरेको छ । यसअघि चिनियाँ बेलुन अमेरिकामा पुगेपछि विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीनको तय भईसकेको भ्रमण स्थगित गरेका थिए ।