९ फागुन, काठमाण्डौ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ । उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा आजदेखि बन्द गर्ने निर्णय भएको हो ।
उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले आज विगत लामो समयदेखि थाइ एयरलाइन्सले गर्दै आएको सेल्फ ग्राउण्ड ह्यान्डलिङको म्याद नथप्ने निर्णय गरेको छ । त्यसका सहायक कम्पनी, जिएसए कम्पनीले गर्दै आएको सेवाहरु आजका मितिदेखि बन्द भएका छन् ।
’प्रवक्ता निरौलाका अनुसार अब सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयरवेजले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थियो ।
प्राधिकरणका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने वक्यौता एक करोड रुपैयाँ भन्दा बढी छ । बन्द भएको थाइ एयरवेजलाई चार वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको थियो ।
थाइ एयरवेजको सब्सिडरी कम्पनी थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग लेनदेनको उद्देश्यले गरेको भनिएको कुराकानीको अडियो सार्वजनिक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । अनुसन्धान जारी रहेको यो विषयलाई आफूहरुले गरेको निर्णयले कुनै फरक नपार्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता निरौला बताउँछन् ।
थाइ स्माइलले उडान संचालन सेवा दिए पनि थाइल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा रद्ध गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको सोमबारको निर्णयले वार्षिक तीन अर्ब रुपैयाँ बाहिर जानबाट रोकेको छ ।