९ फागुन, काठमाण्डौ ।
यस वर्ष चाँडै नै गर्मी सुरु भएको छ । हिउँदमा पानी नपरेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको हो ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुशार ‘हाल देशभरको अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेको छ । पश्चिमी वायु सक्रिय नभएकाले वर्षा नहुँदा चिसो बढ्न नसकेकाले पनि तापक्रम बढेर चाडै गर्मी महसुस गरिएको हो,’ ।
लामिछानेले प्रि–मनसुनको सिजन नजिकिएकाले पनि तापक्रम बढिरहेको बताएका छन् । सामान्यतया नेपालमा हिउँदे वर्षा मंसिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । तर यस वर्ष देशभर हिउँदे वर्षा पर्याप्त मात्रामा हुन सकेन ।
यता पर्याप्त वर्षा र हिमपात नहुँदा हिउँदे बालीमा क्षति पुगेको छ । बाली खेतबारीमा नै सुक्न थालेकाले उत्पादन घट्ने जोखिम बढेको छ । पश्चिमी क्षेत्रमा केही वर्षा भए पनि धेरै ठाउँमा यसपालि हिउँदे वर्षा हुन सकेको छैन ।
बाली लगाएदेखि नै पानी नपर्दा गहुँ, जौ, केराउ, मुसुरो, आलु, फलफूललगायतको उत्पादनमा असर पर्ने देखिएको छ । यस्तै, लामो समयदेखि पानी नपर्दा पशुलाई चरनको पनि अभाव भएको छ । हिमपात र वर्षा नहुँदा लेक तथा खर्कमा घाँस उम्रेको छैन ।
वन, खर्क र खोलामा आश्रित भएका पशुपालक किसान अहिले हिउँदे वर्षा नहुँदा समस्यामा परेका हुन् । सामान्यतया माघको दोस्रो हप्तादेखि घाँस पलाउन सुरू हुनुपर्नेमा यसवर्ष भने हिउँदे वर्षा नहुँदा घाँस पलाएको छैन । यस्तै, लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहानसमेत सुक्न थालेका छन् ।