१३ फागुन, काठमाण्ठौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले राजीनामा दिएका छन् । शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राप्रपाका तर्फबाट बनेका ४ मन्त्रीले राजीनामा बुझाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।
शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएको छ ।
काँग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उमेद्वार बन्दैछन् । यसैबीच नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । शनिबार बिहान नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन् ।
नेम्वाङको उम्मेदवारी दर्तामा ५ प्रस्ताव र ५ समर्थकमा एमालेकै सांसद रहेका छन् । शनिबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।