Nepal Times
Nepal Times
3
Shares

नेपालसँग निरीह पीएनजी ब्याटर यूएईसँग चम्किए/एकै खेलमा हान्यो ३ अर्धशतक

नेपालसँग निरीह पीएनजी ब्याटर यूएईसँग चम्किए/एकै खेलमा हान्यो ३ अर्धशतक

२६ फागुन,एजेन्सी ।
बिहीबारको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा ४७.१ ओभरमा २ सय ५४ रनमा अल आउट हुँदै ५२ रनले पराजित भएको पपुवा न्यूगिनीले आज सम्मानजनक खेल प्रस्तुत गरेको छ । शीर्ष तीन ब्याट्सम्यानको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले शुक्रबार आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई) सामु २४७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रनको योगफल खडा ग¥यो । पीएनजीका सेसे बाउले १०६ बलमा १० चौकासहित ८१ रन बनाए । बाउले दोस्रो विकेटका लागि हिरी हिरीसँग ११२ रनको साझेदारी गरेका थिए ।

हिरी हिरीले ८५ बलमा पाँच चौका र चार छक्कासहित ७७ रन बनाए । हिरीले पहिलो विकेटका लागि अर्का ओपनर किप्लिन डोरिगाले ७२ रनको साझेदारी गर्दै पीएनजीलाई बलियो सुरुआत दिलाएका थिए । डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्कासहित ५५ रन बनाए । तर, मध्यक्रम ब्याटरबाट आशाअनुरुपको प्रदर्शन हुन नसकेपछि पीएनजी ठूलो योगफलसम्म पुग्न भने सकेन ।

हिजोको खेलमा सेसे बाउ ३ रनमा आउट भएका थिए । यस्तै पहिलो विकेटका लागि ओपनर टोनी उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गरेका थिए । आज पीएनजीका चाड सोपर र नोर्मन भानुअले समान १० रन बनाए ।

कप्तान असद भाला ‘गोल्डेन डक’ भएका थिए । यूएईका आयान अफ्जल खानले तीन विकेट लिए । १० ओभर बलिङ गरेका अफजलले तीन मेडन फ्याक्दै ३४ रनमात्र खर्चिए । जुनैद सिद्दिकीले र जहुर खानले समान दुई विकेट लिए ।

रोहन मुस्तफा र कार्थिक मयप्पनले एक–एक विकेट लिए । नेपाल, यूएई र पीएनजी सम्मिलित यो शृंखला लिग–२ को अन्तिम शृंखला हो । शृंखलाको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । यूएईको भने यो शृंखलाको पहिलो खेल हो । लिग–२ को शीर्ष तीनमा रहने सम्भावना कायम राख्न यूएई जितको दबाबमा छ ।

यता, पीएनजीको भने शीर्ष पाँचमा अटाउने सम्भावनासमेत समाप्त भइसकेको छ । ३२ खेलबाट ३१ अंक जोडेको यूएई तालिकाको छैटौं स्थानमा छ । ३३ खेलबाट नौ अंक जोडेको पीएनजी पुछारमा छ । यस्तै, ३३ खेलबाट ३४ अंक जोडेको नेपाल तालिकाको पाँचौ स्थानमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.