१ चैत , एजेन्सी ।
रुस र युक्रेन युद्ध सुरु भएयता पहिलो पटक दुई महाशक्तिहरु आमनेसामने भएका हुन् । रुस र अमेरिकाबीच प्रत्यक्ष भिडन्त भएको छ । रुसको सुखोई २७ विमानले अमेरिकाको एमक्यू–९ ड्रोनलाई निशाना बनाएको थियो । लडाकु विमानले पहिले आफ्नो इन्धन ड्रोनमा खसाल्यो र त्यसपछि ठक्कर दियो।
अमेरिकी सेनाले मंगलबार कालो सागरमा रुसी लडाकू विमानले अमेरिकी जासुसी ड्रोनलाई निशाना बनाएको जनाएको छ। जसका कारण अमेरिकी सेनाले यो ड्रोनलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा खसाल्नुपरेको थियो । रुस–युक्रेन युद्धपछि दुई महाशक्तिबीच प्रत्यक्ष भिडन्त भएको यो पहिलो पटक हो ।
यसका लागि अमेरिकाले रुसी फाइटर पाइलटलाई जिम्मेवार ठहर गरेको छ । यस घटनाबाट आक्रोशित अमेरिकी सेनाले रुसलाई खुला चेतावनी दिँदै युद्ध भड्काउन सक्ने बताएको छ । अमेरिकी सेनाले रुसले विगतमा धेरै ’आक्रामक’ र ’खतरनाक’ कारबाही गरेको बताएको छ।
यस्तै अमेरिकी युरोपेली कमाण्डले एक विज्ञप्तिमा भनेको छ कि दुई रुसी एसयू–२७ लडाकु विमानहरूले ब्ल्याक सागरमा अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडिरहेको अमेरिकी एमक्यू–९ ड्रोनलाई “असुरक्षित र अव्यवसायिक रूपमा“ रोकेको छ। एमक्यू–९ ड्रोनमा डिजिटल इलेक्ट्रोनिक इन्जिन नियन्त्रण छ।
यसको इन्जिन एकदमै विशेष छ जसको कारणले गर्दा यसको प्रदर्शन अन्य ड्रोन भन्दा राम्रो छ। यो ड्रोन २७ घण्टाभन्दा बढी हावामा रहन सक्छ । यो ड्रोन ५० हजार फिटको उचाइमा उड्न सक्छ । यसको १७४६ किलोग्रामको पेलोड क्षमता छ, जसमध्ये १३६१ केजी बाहिर भण्डारण गर्न सकिन्छ। यो ड्रोनले निगरानी र युद्धमा आफ्नो उच्च क्षमता देखाउन सक्छ।
यसले धेरै प्रकारका हतियार बोक्न सक्छ । यसबाहेक, यो ड्रोन धेरै प्रकारका सेन्सरहरूले सुसज्जित छ । जसले दुश्मनहरूलाई लक्षित गर्न धेरै सजिलो बनाउँछ। सुखोई २७ लाई सोभियत संघले सन् १९८५ मा वायुसेनामा समावेश गरेको थियो । यो विमान आवाजको दोब्बर गतिमा उड्न सक्छ । यो फाइटर जेटले २८९० किलोमिटरसम्म उड्न सक्छ ।