७ चैत, काठमाण्डौ ।
बढुवा भएकै दिन नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले एआईजी श्यामलाल ज्ञवालीको सम्पूर्ण विवरण माग गरेको छ ।
गृह मन्त्रालयलाई सोमबार एक पत्र पठाई विवरण माग गरिएको हो । अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानमा पनि प्रहरीमा भर्नाका लागि ज्ञवाली ‘अयोग्य’ देखिएका छन् । यसअघि प्रहरी किताबखाना, प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय प्युठानमा पनि उनको विवरण माग गरिएको थियो ।
ज्ञवाली सेवामा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको उनकै नागरिकताबाट खुलेपछि अख्तियारमा उजुरी परेको थियो । उजुरीका आधारमा उनको नागरिकता विवरण खोजी गरिएको हो । उनी २५ वर्ष पूरा भइसकेको करिब १० दिनपछि भर्ना भएका थिए ।
जिल्ला प्रशासन कार्यालय प्युठानबाट ज्ञवालीले २०४१ चैत २१ मा नागरिकता लिएको देखिएको छ । त्यसबेला उनको उमेर १७ वर्ष रहेको थियो । उनको जन्म २०२४ सालमा भएको र २५ वर्ष पूरा भएपछि उनी २०५० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको पाइएको छ ।
त्यसबेलाको नियमअनुसार २५ वर्ष उमेर पूरा भएको व्यक्ति प्रहरी निरीक्षकमा भर्ना हुन पाइँदैनथ्यो । २०५० साल मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । सो सूचनामा छनोट हुने सालको वैशाख १ गते २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।
उक्त सूचनाअनुसार पनि ज्ञवालीले आवेदन दिन पाउँदैन थिए । यही विषयमा अहिले अख्तियारले अनुसन्धान थालेको हो । गृहलाई प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ । सरकारले सोमबारमात्र ज्ञवालीसहित ५ जनालाई एआईजीमा बढुवा गरेको थियो । ज्ञवाली कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा कार्यरत छन् ।