श्रीलङ्काका राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण

बुटवल, भदौ १६
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरे ।

भ्रमणका अवसरमा राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपद्चाप चिन्ह (मार्कर स्टोन) बुद्धको जन्म स्मारक शिला, अशोक स्तम्भ, पुष्करिणी लगायतका महत्वपूर्ण ऐतिहासिक वस्तुको अवलोकन गरे ।

राष्ट्रपति सिरिसेनालाई संस्कृति, पर्यटनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष रवीन्द्र अधिकारी, प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश नं ५ का उद्योग, पर्यटनमन्त्री लीला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयलगायत पदाधिकारीले स्वागत गरे ।

राष्ट्रपति सिरिसेनाले मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पिपलको बोटमुनि पूजा तथा प्राथना गरे । त्यसलगत्तै लुम्बिनी विकास कोषले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति सिरिसेना सरिक भए ।

सो अवसरमा मन्त्री अधिकारीले लुम्बिनी विकास कोषका तर्फबाट उनलाई मायाको चिनो प्रदान गरेका थिए । यसलगत्तै राष्ट्रपति सिरिसेनाले लुम्बिनीको बिहारक्षेत्रस्थित श्रीलङ्कन गुम्बा पुगी अवकोलन एवं केही समय ध्यान समेत गरे ।

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट हरेक वर्ष हजारौं बुद्धमार्गी लुम्बिनी भ्रमणमा आउने गर्छन् । गतवर्ष श्रीलङ्काबाट २७ हजार जनाले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
रासस