१४ चैत , काठमाडौं ।
महाधिवेशनको तुसले प्रतिनिधिसभाको निर्वाचनमा टिकट समेत नपाएपछि नेकपा एमालेमा निष्क्रिए जस्तै देखिएका एमाले नेता भीम रावल पछिल्लो समय एमालेले सुरु गरेको ग्रास रुट अभियानमा जोडिएका छन् । यद्यपि अहिलेपनि आफूलाई पार्टीबाटै बेदखल गर्ने प्रयास भएको भन्दै उनी एमालेप्रति नै खनिएका छन् ।
आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिने काम भइरहेको उनले जनाएका छन् । आफूलाई यसरी नै घचेटिरहे नयाँ पाइला चाल्ने पनि उनले चेतावनी दिएका छन् । यद्यपी एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने पनि उनले जनाएका छन् । त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने उनको भनाई छ ।
आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमान्दार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’
अछाममा सोमबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरुसँग भेटेको र पार्टीमा असहयोग गरेको भनेर लगाएको आरोपबारे पनि उनले पत्रकार सम्मेलनमार्फत् जवाफ दिएका छन् । उनले एमाले उपाध्यक्ष पौडेल अछाम आउन लागेको जानकारी नदिइएको बताए ।
‘यदि मलाई विष्णु पौडेलले म आउँदैछु भनेको भए निश्चित रुपमा मेरो जिल्लामा स्वागत गर्न जाने थिएँ,’ उनले भने । पौडेल सहभागी सार्वजनिक कार्यक्रमका एमालेका एक नेताले भीम रावलले एकीकृत समाजवादी र माओवादी केन्द्रका विभिन्न नेताहरुसँग भेटेको र गुटबन्दी गरेको आरोप लगाएका थिए ।
त्यसपछि कार्यक्रममा सहभागी रावलका समर्थकहरुले होहल्ला गरेका थिए । केहीबेरपछि एमाले उपाध्यक्ष पौडेलले रावलले पार्टीले दिएको जिम्मेवारी अस्वीकार गरेको र पार्टीमा असहयोग गरेको बताएका थिए ।पत्रकार सम्मेलनमा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई र माधव नेपाललाई भेट्न हुने तर आफूले अरु पार्टीकालाई भेट्न नपाउने भन्ने नहुने बताए ।उनले भने, ‘केपी शर्मा ओली र विष्णुप्रसाद पौडेल स्वयंले कोटेश्वरमा गएर माधव नेपाल जीसँग वार्ता गर्नुभाछ । अरु साथीहरुले पनि गर्नुभाछ ।
पार्टी अलग बनाएर गइसक्नु भएका माधव नेपाललाई राष्ट्रपति बनिदिनुस्, पार्टी मिलाऔं भन्दा पनि मिल्ने, प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि मिल्ने अनि मैले यहाँ कोही मान्छेसँग भेटेपछि भीम रावल त समाजवादी भइसक्यो भन्ने ? राजनीतिमा यस्तो पनि हुँदोरहेछ हाम्रो देशमा ।’ पार्टी निर्माणमा निरन्तर पसिना बगाएको, जेलनेलको सामना गरेको, स्वदेश र प्रवासमा संगठन विस्तार गरेकाहरुलाई आफूले भेटेको रावलले प्रष्टीकरण दिएका छन् ।