१४ चैत , विराटनगर ।
विराटनगरस्थित सहिद मैदानमा जारी सातौँ संस्करणको विराट गोल्ड कपमा आज अन्तिम सेमिफाइनल खेल हुदैछ । आज हुने खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साबिक विजेता विभागीय टिम एपीएफबीच हुनेछ । यो खेलको विजेताले उपाधिका लागि विराटनगर सिटीसँग खेल्नेछ ।
गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा पुगेको छ । सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल यूथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका छन् ।
जावलाखेलको तर्फबाट हिसुव थपलियाले सान्त्वना गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए ।
दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दबाब परेको थियो । ५९ औँ मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिए । विमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनीश देउलाले मैदानतिर बल पालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
८७ औँ मिनेटमा विराटनगर सिटीका विमल घर्ती मगरले निकालेको क्रस पासलाई अभिषेक गुरुङले गोल गरी टिमको लागि विजय गोल गरे । खेलको म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पाए ।