पार्टी छाड्दै स्वर्णिमले लेखे कांग्रेस गिरोह बन्दैछ

१६ चैत, काठमाण्डौ ।
नेपालका चर्चित अर्थशास्त्री तथा नेपाली कांग्रेसका नेता डा स्वर्णिम वाग्लेले नेपाली काग्रेस पार्टी छाडेको घोषणा गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै वाग्लले नेपाली काग्रेसप्रति अनेकौ प्रश्न उब्जिने गरी तरङ पैदा गर्दै पार्टी परित्याग गरेका छन् । उनले विपीको पार्टी कांग्रेस गिरोह बन्दै गएको उल्लेख गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, नेपाली काँग्रेसबाट अलग भएको घोषणा ।वि. स. २०४२ सालको ’सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ।

Advertisement

तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।

अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ।

Advertisement

सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ’यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल। यसअघि वाग्लेले कांग्रेसका ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएका थिए ।

पत्रमा उनले कांग्रेसप्रति अपार सद्भावका बावजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको उल्लेख गरेका थिए । कांग्रेस परित्याग गरेसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बन्ने संभावना बढेको छ । मंसिरमा स्वर्णिम कांग्रेसबाटै उम्मेदवारको आकांक्षी भए पनि उनले टिकट पाएका थिएनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको बताइसकेका छन् । वाग्ले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । उनले राष्ट्रिय योजना आयोगको सदस्यको रूपमा पनि दुई कार्यकालका लागि काम गरिसकेका छन् ।

वरिष्ठ अर्थशास्त्री वाग्ले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को एसिया तथा प्रशान्त क्षेत्रीय ब्यूरोमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् । वाग्लेसँग अन्तर्राष्ट्रिय विकासका क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा नेपाल फर्कनुअघि वाग्ले विश्व बैंकको वाशिंगटनस्थित मुख्यालयमा वरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत थिए ।

त्यसअघि उनले यूएनडीपीकै वरिष्ठ अर्थशास्त्रीका रूपमा मुख्यालय न्यूयोर्क, भियतनामको राजधानी हनोइ र श्रीलंकाको राजधानी कोलम्बोमा रहेर काम गरेका थिए । दक्षिण एसियाली थिंकट्यांक सर्वांगिण विकास अध्ययन केन्द्र (आईआईडीएस)को अध्यक्ष समेत रहेका वाग्ले काठमाडौँ विश्वविद्यालयको सिनेटमा र अन्य गैर–नाफामूलक संस्थाको सल्लाहकार समेत रहेका छन् ।

उनी विश्व बैंकको दक्षिण एसिया ‘च्याम्पियनिङ एन्ड भिजनिङ प्रोसेस’का विशिष्ट सदस्य समेत हुन् । गोर्खामा जन्मेका वाग्लेले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधी, अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेका हुन् । उनले स्नातक तहको अध्ययन–बीएस्सी (इकोनोमिक्स) लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top