हसिनाले अमेरिकाको पोल खोल्दिन

२८ चैत, एजेन्सी ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना अमेरिकामाथि आक्रोशित बनेकी छन् । उनले प्रत्यक्ष रुपमा अमेरिकाको नाम नलिइकनै अमेरिकी सरकारको आलोचना गरेकी छिन् । अमेरिकाले चाहे कुनै पनि देशको सत्ता परिर्वतन गर्न सक्ने भन्दै हसिनाले आक्रोष पोखेकी छिन् ।

बंगलादेशको संसदमा अमेरिकाको आलोचना गर्नुअघि उनले बंगाली भाषाको दैनिक पत्रिका ’प्रोथोम आलो’को पनि आलोचना गरेकी थिइन् । उनले सो पत्रिका उनको पार्टी अवामी लिगको मात्रै नभइ बंगलादेशी जनता र लोकतन्त्रको दुश्मन भएको बताएकी थिइन् ।

बंगलादेशको संसदले ५० वर्ष पूरा गरेको अवसरमा पेस भएको प्रस्तावमाथि सम्बोधन गर्ने क्रममा उनले अमेरिकाले लोकतन्त्रको नाममा आफूहरुलाई झुक्याउने प्रयास गरिरहेको बताएकी हुन् । ’सो देश हामीलाई लोकतन्त्रको नाममा झुक्याउँदैछ र हाम्रो विपक्षी पार्टी र केही मानिस तालि बजाउँदै र नाच्दैछन्,’ उनले भनिन् । ’उनीहरु कुनै पनि देशको सत्ता परिवर्तन गर्न सक्छन् । विशेगरि मुस्लिम देशहरुमा । जबसम्म उनीहरुको नियन्त्रण इस्लामिक राष्ट्रमाथि थियो, सबै ठिक थियो । अहिले रसिया र युक्रेन युद्धले विश्वकै आर्थिक संकटको चपेटामा छ,’ उनले थप भनिन् ।

Advertisement

बंगलादेशका विदेश मन्त्री डा अब्दुल मोमिन अमेरिका भ्रमणमा रहेका बेला हसिनाको यो अभिव्यक्ति आएको हो । मोमिनसँगको भेटमा अमेरिकाका विदेश मन्त्री एन्थोनी ब्लिन्केनले अमेरिकाले बंगलादेशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको देख्न चाहेको बताएका थिए । ब्लिन्केनले विश्वको नजर बंगलादेशमा हुने निर्वाचनमाथि रहेको बताएका थिए ।

पछिल्लो केही वर्षयता बंगलादेश र अमेरिकाको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ । अमेरिकाले रोहिंग्या मुसलमानहरुको मानवअधिकारको विषयलाई लिएर बंगलादेशको आलोचना गर्दै आएको छ । यद्यपि, ब्लिन्केनले भने आफूहरु बंगलादेशले रोहिंग्याप्रति देखाएको उदारताको प्रसंशक भएको मोमिनसँगको भेटमा बताएका थिए ।

Advertisement

यही वर्ष आयोजना भएको डेमोक्रेसी समिटमा अमेरिकाले बंगलादेशलाई निमन्त्रणा दिएको थिएन । सो सम्मेलनमा अमेरिकाले नेपालसहित भारत, पाकिस्तान र माल्दिभ्सलाई बोलाएको थियो । संसदमा सम्बोधन गर्दै हसिनाले अमेरिका भइरहेको गोलीकाण्डको चर्चासमेत गरिन् । अमेरिकाका विद्यालय, सपिङ सेन्टरहरुमा गोली चलिरहेको उनले त्यसप्रति भने अमेरिकी सरकार जवाफदेही नभएको बताइन् ।

उनले १५ अगस्तको नरसंहारका दोषी रशीद चौधरी अमेरिकामा रहेको र पटकपटक उनलाई कारबाहीको माग गरे पनि नभएको भन्दे उनले भनिन्, ’उनीहरु यस्ता अपराधीहरुको संरक्षण गरिरहेका छन्।’ रशीदले शेख हसिनाका बुवा बंगबंधु शेख मुजीब उर रहमानको विरुद्ध सैनिक विद्रोहको नेतृत्व गरेका थिए । उनीमाथि बंगबंधुको हत्याको आरोप छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top