Nepal Times
Nepal Times
3
Shares

शाहरुखको सिग्नेचर पोज गिनिज बुकमा दर्ता

शाहरुखको सिग्नेचर पोज गिनिज बुकमा दर्ता

२९ जेठ, एजेन्सी ।
बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता भारतमामात्रै होइन विश्वभर नै उनका प्रशंसकहरु रहेका छन् । शाहरुखका समर्थकले उनीप्रति दर्शाउने प्रेमभाव पनि धेरैको लागि चासो विषय बन्ने गर्दछ । यसपटक समर्थकले उनका लागि केही फरक गरे, जुन काम देखेर शाहरुख आफैं छक्क परेका छन् ।

दुवै हात फैलाएर आलिङ्गनका लागि आह्वान गर्नु बलिउड स्टारको सिग्नेचर पोज हो । दर्शकसामु यो पोज उनको पहिचान हो । शाहरुखका फ्यानहरू पनि यो पोजमा उत्तिकै अपनत्व महसुस गर्छन् । र, शनिबार यस्तै एक घटना भयो, जुन घटनापछि शाहरुखको उक्त पोज गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।

शाहरुख शनिबार आफ्नो बंगला मन्नतको बालकनीमा आएका थिए । चर्को घाममा शाहरुखको बंगलाबाहिर हजारौं फ्यान जम्मा भएका थिए । यसै क्रममा अनौठो कीर्तिमान बन्यो । १८ जुनमा शाहरुखको फिल्म पठानको वर्ल्ड टेलिभिजन प्रिमियर हुँदैछ । मन्नतबाहिर शाहरुखलाई पर्खिबसेका थिए करिब ३ सय फ्यान ।

च्यानलको लोगोसहितको टी–शर्ट लगाएका उनीहरूले शाहरुखलाई देख्नेबित्तिकै उनको सिग्नेचर पोज बनाए । फ्यानहरूको यो इशाराले रेकर्डको रूप लियो, जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । शाहरुखको घर बाहिर हरेक दिन उनका समर्थकको भीड लाग्छ । पछिल्लो पटक उनको समर्थकले शाहरुखलाई सम्झनालायक क्षण बनाइदिए ।

शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए । शाहरुख पछिल्लो पटक ‘पठान’मा देखिएका थिए । चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले बक्सअफिसमा कैयौं रेकर्ड तोडे । ‘पठान’ पछि उनी ‘जवान’मा देखिँदैछन् । यो फिल्ममा शाहरुखको लुक्स फ्यानमाझ लोकप्रिय बनिसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.