Nepal Times
Nepal Times
3
Shares

एसईईको नतिजा यसै साताभित्र आउने

एसईईको नतिजा यसै साताभित्र आउने

१७ असार,काठमाण्डौ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताएका छन् ।

नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन । प्राविधिक समस्या नआए नतिजा प्रकाशन अर्को केही दिन धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताएका छन् । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन । बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो ।

यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम व्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने बोर्ड सदस्यहरुको मत बलियो छ । निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ भने २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याएपनि विद्यार्थी पास हुने व्यवस्था गरिएको छ । नयाँ निर्देशिका २०७८ लागू हुँदा विद्यार्थी नन् ग्रेडिङमा पर्ने सम्भावना रहन्छ ।

गत वर्ष कक्षा १२ को नतिजा नयाँ निर्देशिका अनुसार सार्वजनिक गर्दा करिब ५० प्रतिशत विद्यार्थी नन्ग्रेडिङमा परेका थिए । दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने त्यो भन्दा धेरै विषयमा नन्ग्रेडिङ भए अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा धेरै विषयमा नन्ग्रेडिङ आए सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.