२ साउन,एजेन्सी ।
विश्व चर्चित जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको आइएक्स–३ नेपालमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ पछि बीएमडब्लुको आधिकारिक विक्रेता लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स ३ भित्र्याएको हो ।
नेपालमा यसको मूल्य २ करोड २९ लाख रुपैयाँ रहेको छ । बीएमडब्लुको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो । नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने वितरकले जनाएको छ ।
कम्पनीले नेपालमा विगत ३ वर्षदेखि बीएमडब्लुका प्रिमियम उत्पादन बिक्री गर्दै आएको छ । बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्बन उत्सर्जन गर्ने विद्युतीय गाडीको माग बमोजिम अल इलेक्ट्रिक एसयुभी आईएक्स–३ सार्वजनिक गरिएको जनाइएको छ ।
८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्युटन मिटर छ । यो गाडी एक पटक फुल चार्ज गरेपछि ४६० किलोमिटर कुद्छ।
ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ । गाडीमा म्युजिकका लागि १६ वटा स्पीकर छ । गाडीमा पानारोमिक ग्लास रुफको छ । ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम छ ।
वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर ¥याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बियन्ट लाइट यो गाडीमा छ । यसमा २० इन्चको एरोडायनामिक ह्वील पाउन सकिन्छ । बीएमडब्लूले सिरिज थ्रि, सिरिज फाइभ, सिरिज सेभेन र सिरिज एक्स मोडलका गाडी नेपालमा विक्री गर्दै आएको छ ।