Nepal Times
Nepal Times
252
Shares

फाँसीको प्रावधान हटाउन राष्ट्रसङ्घको आग्रह

फाँसीको प्रावधान हटाउन राष्ट्रसङ्घको आग्रह

१३ साउन, एजेन्सी ।
संयुक्त राष्ट्रसंघले फाँसीको सजाय दिने प्रावधान हटाउन आग्रह गरेको छ । सिङ्गापुर र कुवेतमा हालै भएको मृत्युदण्डको घटनालाई निन्दा गर्दै राष्ट्रसङ्घले ती देशलाई फाँसीको सजायमा रोक लगाउन आह्वान गरेको हो । सिङ्गापुरमा लागूऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक महिलालाई शुक्रबार फाँसी दिइएको थियो ।

उता कुवेतमा विहीबार सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँच जनालाई मृत्युदण्ड दिइएको थियो । गएको वर्ष नोभेम्बरमा सात जनालाई मृत्युदण्ड दिइएयता साउदी अरबको छिमेकी खाडी देश कुवेतमा बिहीबार दिइएको मृत्युदण्ड पहिलो हो ।

साउदी अरबको तुलनामा कवेतमा मृत्युदण्डको सजाय दुर्लभ मानिन्छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले कुवेत र सिङ्गापुरमा यो हप्ता दिइएका मृत्युदण्डको निन्दा गरी कुनै पनि अवस्थामा हुने मृत्युदण्ड मान्य नहुने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कुवेत र सिङ्गापुरलाई तत्काल मृत्युदण्डमा रोक लगाउन र मृत्युदण्डमा रोक लगाउने १ सय ७० भन्दा धेरै देशको पक्षमा सामेल हुन उनको आग्रह छ । विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागु औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको अवस्थामा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.