कोरियाको पानीजहाज कम्पनीमा नेपालीलाई जागिर, कति हुन्छ तलव ?

१४ साउन, एजेन्सी ।
‘सिप बिल्डिङ’ अर्थात् पानीजहाज कम्पनीका लागि अब दक्षिण कोरियाले नेपाली कामदार लैजाने भएको छ । यसका लागि भाषा परीक्षाको आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

Advertisement

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो । नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।

सिप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनोटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ । ईपीएस प्रणालीमार्फत् दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सिप परीक्षण दुवैमा पास हुनुपर्छ । ईपीएस कोरिया शाखाले आज सूचना निकालेर पानी जहाज कम्पनीको लागि भाषा परीक्षा असोज १ गतेदेखि हुने जनाएको छ । परीक्षास्थल र समय भदौको ८ गते प्रकाशित हुनेछ ।

Advertisement

भाषा परीक्षाबाट झण्डै दुई हजार पाँच सयको अन्तिम नतिजा प्रकाशन हुनेछ । तर कामदारको मागअनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्नेछ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप परीक्षणमा सहभागी भइ उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सक्नेछन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् नै दक्षिण कोरियाले सिप बिल्डिङको काममा नेपाली श्रमिक लैजान लागेको हो ।

Advertisement

यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू ईपीएस प्रणालीमार्फत् दक्षिण कोरिया गइरहेका छन् । नेपालले सन् २००८ देखि सरकार–सरकारबीचको समझदारी अन्तर्गत ईपीएस प्रणालीबाट कामदार पठाउदै आएको छ। त्यसका लागि सुरुमा नेपालीहरूले कोरियाली भाषा परीक्षामा सहभागी भएर उत्तीर्ण हुनुपर्छ।

त्यसरी उत्तीर्ण भएका मध्येबाट विभिन्न खाले मूल्याङ्कनको आधारमा कामदारहरू कोरिया जान पाउँछन्। ईपीएस प्रणालीमा कामदार छान्ने कार्यमा कोरियालीहरू नै प्रत्यक्ष रूपमा सामेल हुने गर्छन्। त्यसरी गएका नेपाली कामदारको अहिले न्यूनतम तलब मासिक करिब दुई लाख रुपैयाँ रहेको छ। तर कम्पनी अनुसार त्यसभन्दा माथि तलब पन हुने गर्छ ।

नेपाली कामदारहरूले पानीजहाज निर्माण क्षेत्रमा विशेषगरी वेल्डिङको काम गर्नेछन्। त्यस बाहेक पेन्टिङ र इन्सुलेसनको काम पनि नेपालीहरूले गर्न पाउनेछन्। पानीजहाज बनाउनका लागि विभिन्न निर्माण कम्पनीहरूले विभिन्न खाले सानासानादेखि ठूलाठूला उपकरण एवं सामग्री बनाउनुपर्ने हुने र त्यस्ता कम्पनीमा नेपालीहरू जाने छन् ।

कोरियाली विदेश मन्त्रालयका अनुसार उक्त देशबाट निर्यात हुने प्रमुख वस्तुमध्येमा पानीजहाज पनि मुख्य हो। उक्त मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार ‘कोरिया विश्वकै धेरै पानीजहाज बनाउने मध्येको एक देश’ हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top