२१ साउन,विराटनगर ।
विराटनगर स्थित एक सामुदायिक विद्यालयको शैक्षिक स्थिति सुधारको माग राख्दै महानगर अघि प्रर्दशन गर्ने एक अभियन्तालाई थुनाएपछि विराटनगर महानगरपालिका मेयर विवादमा तानिएको छ । अभियन्ता थुनाएको भन्दै सामाजिक संजाल तथा अन्य अभियन्ताहरुबाट समेत लगातार प्रश्न उठ्न थालेपछि मेयरले प्रष्टिकरण दिएका छन् ।
विराटनगरको ग्रोगाहा उच्च माविमा शैक्षिक सुधारको मागसहित महानगरपालिका कार्यालयको प्रवेशद्वारअगाडि ब्यानर बोकेर प्रदर्शन गर्ने विराटनगर–५ निवासी इन्दिरा चापागाईंलाई प्रहरी प्रशासन लगाएर एक सातायता प्रहरी हिरासतमा राखिएको विषयमा मेयरको सचिवालले प्रष्टिकरण दिएको छ। चापागाईंको अवरोधका कारण मेयर तीन महिनादेखि मुख्यद्वार प्रयोग नगरी भित्री द्वारबाट कार्यालय प्रवेश गर्नुपरेको उनको सचिवालयले जनाएको छ ।
“विगत तीन महिनादेखि महानगरको गेटमा अराजक ढंगले चापागाईंले विरोध प्रदर्शन गर्दै आएको, झोलामा बोकेको पेटीकोटले मेयरलाई छोप्न खोज्ने, मेयर चढेको गाडीमा पेटीकोटले हान्ने, लात्तीले हान्ने, सिधै झम्टिने, अशोभनीय शब्द प्रयोग गरी जथाभावी गालीगलौज गर्नुका साथै मेयरलाई मुख्य गेटबाट प्रवेश गर्न अवरोध पु¥याएको,” मेयर कोइरालाको सचिवालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सेवा प्रवाहलाई नै असर पार्नुका साथै मोबाइलमा समेत गालीगलौजसहितका म्यासेज बारम्बार पठाएपछि चापागाईंलाई पटक–पटक बोलाएर सम्झाउने प्रयत्न गरिएको जनाइएको छ । महानगरको दैनिक कार्यसम्पादनमा बाधा पुगेका कारण बाध्य भएर चापागाईंविरुद्ध प्रहरी प्रशासनमा लिखित निवेदन दिएको मेयर कोइरालाको सचिवालयले प्रस्टीकरण दिएको छ ।
यही साउन १५ गते महानगरपालिका कार्यालयले चापागाईंविरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको थियो । उजुरीपछि चापागाईंलाई पक्राउ गरी हिरासतमा राखिएको मोरङ प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेपछि अदालतबाट ७ दिनको म्याद थपिएको छ ।
चापागाई गएको जेठदेखि गोग्राहा उच्च माविमा निजी स्रोतबाट सञ्चालित शिक्षा संकायको कलेजलाई महानगरले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको भन्दै महानगरपालिका कार्यालयअगाडि धर्नामा बस्दै आएकी थिइन् । उनले बजेट फिर्ता गरेर सामुदायिक विद्यालयबाट कलेज हटाउनु पर्ने माग गर्दै धर्ना दिँदै आएकी थिइन् ।