Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटवाक’

विराटनगरमा मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटवाक’
२२ साउन, विराटनगर । विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्‍याम्पमा उत्रिएका छन् ।
विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर र्‍याम्पमा उत्रिएका हुन् ।
फेसन शो मा तनस्काका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६ महिला गरी १८ जना मोडेल प्रदर्शनीमा निस्किएका थिए । पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी र्‍याम्पमा उत्रिए ।
उनीहरुसँगै चर्चित मोडेल कार्की र कलाकार निरौला पनि र्‍याम्पमा उत्रिँदा कार्यक्रममा थप रौनकता बढेको थियो ।
विराटनगर–३ गोग्राहा चोकस्थित कञ्चनजंघा व्याङ्केटमा भएको फेसन शो मा गायिका सत्यकला राई र र्‍याम्पर शैलेश निरौलाको सांगीतिक प्रस्तुती दिएका थिए।
कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तनस्काका विद्यार्थीहरुले तयार गरेका कपडा निकै उत्कृष्ट रहेको भन्दै प्रशंसा गरिन् ।
फेसन डिजाइनरहरुलाई प्रोत्साहन गर्न विराटनगर महानगरपालिकाले पनि सक्दो सहयोग गर्ने उनले  बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले विराटनगरको फेसन डिजाइन क्षेत्रमा तनस्काले नयाँ आयाम थपेको प्रतिक्रिया दिए ।
कार्यक्रममा तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन फेसन शो गरिएको जानकारी दिइन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.