नेपाली टिमसँग प्रचण्डको भर्चुअल कुराकानी

१३ भदौ , काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् । बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । नेपालले आज घरेलु टिम पाकिस्तानसँग खेल्दैछ। घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ। नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ।

यसअघि नेपालले आइसिसीका अरु स्थायी सदस्यविरूद्ध खेले पनि वरीयताको नम्बर एक टिमसँग भने एकदिवसीय खेल खेलेको थिएन। यस्तै नेपालले एकदिवसीय खेलमा पाकिस्तानसँग पहिलोपटक खेल्न लागेको हो। औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो।

Advertisement

सन् २०१४ को टी–२० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठूलो प्रतियोगिता हो। टी–२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन। नेपालले २०२३ को एसिया कपमार्फत् प्रतियोगितामा डेब्यू गर्दैछ। यस्तै एसिया कपमा सहभागी टिम मध्ये नेपालका कप्तान सबैभन्दा कम उमेरका छन्। २० वर्षीय रोहितकुमार पौडेल नेपालका लागि एसिया कपमा नेतृत्व गर्ने कान्छा कप्तान हुनेछन्।

पाकिस्तानविरूद्ध मैदान उत्रिएसँगै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ५०औं एकदिवसीय खेल खेल्नेछन्। सन्दीपले नेपालका लागि ४९ एकदिवसीय खेल खेल्दै १११ विकेट लिइसकेका छन्। उनी नेपालका लागि सर्वाधिक एकदिवसीय विकेट लिने बलर हुन्। नेपालले आइसिसीको चौथो स्थायी सदस्यसँग एकदिवसीय खेल खेल्न लागेको हो।

Advertisement

यसै वर्ष नेपालले जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग एकदिवसीय खेल खेलेको थियो। पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो। भर्खरै अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३–० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको थियो। अफगानिस्तानलाई ३–० ले हराएको मैदानमा पाकिस्तानले नेपालसँग खेल्नेछ। एसिया कपका सबै नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछन्।

नेपालमा स्टार स्पोर्ट्स नेटवर्कबाट प्रत्यक्ष खेल हेर्न सकिनेछ। ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ’बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–फोर चरणमा प्रवेश गर्नेछन्। त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top