नवलपरासीमा जापानिज इन्सेफलाइटिस बाट एक वृद्धको मृत्यु

१९ भदौ, काठमाण्डौ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफलाइटिस बाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको हो।

बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो। चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाईंले बताए। परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफलाइटिस पुष्टि भएको उनले बताए।

Advertisement

उनका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफलाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो।जापानिज इन्सेफलाइटिस पुष्टि भएका एक जनाको चितवनस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताए।

देवचुली नगरपालिकाकी १५ वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस देखिएको र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको उनले बताए।यहाँका दुइटा पालिकामा जापानिज इन्सेफलाइटिसका बिरामी पुष्टि भएपछि बिरामी भेटिएका स्थान वरपर अन्य केही व्यक्तिको रगत परीक्षणका लागि आज रगत संकलन गरिँदै छ।

Advertisement

साथै उक्त स्थान वरपर स्वास्थ्य कार्यालको सक्रियतामा सचेतनामूलक कार्यक्रम समेत गरिँदैछ।जापानिज इन्सेफलाइटिसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंको भनाइ छ।

उनका अनुसार यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, बेहोस हुने, बान्ता आउने, शरीर काप्ने जस्ता लक्षण देखिन्छन्।अबको केही महिना जापानिज इन्सेफलाइटिसको जोखिम धेरै हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्न विशेष ध्यान पुर्‍याउनुपर्ने कार्यालय प्रमुख चापागाईंले बताए। सन् १९७८ मा रूपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो। रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top