४ असोज, काठमाण्डौ ।
१९ औं एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिशेकराज सिंहका अनुसार ललित बन्द प्रशिक्षणका दौरान घाइते भएका थिए । उनको दायाँ काधमा चोट लागेको छ भने आज शल्यक्रिया गर्ने तयारी गरिएको छ ।
गतवर्ष नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीकै जस्तै उनको चोट लागेको हो । चोभार एण्डमा कमल घाइते भएकै ठाउँमा ललित अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा घाइते हुन पुगेका थिए । यससँगै उनले एसियन गेम्स गुमाउन सक्छन् । अब क्यानले उनको स्थानमा अर्का खेलाडी पठाउनु पर्नेछ । एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ ।
प्रतियोगिताको परिवर्तित खेल तलिकाअनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपालसँगै माल्दिभ्स र मंगोलिया छन् । समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ । क्वार्टरफाइनलमा चार टिमले स्थान पक्का गरिसकेका छन् । टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधा अन्तिम आठमा स्थान दिइएको हो ।
चारै टिमले एसियाली खेलकुदका लागि सिनियर टिमलाई पठाउने छैनन् । भारतले आइपिएल खेलेका रुतुराज गायकवाडलाई कप्तान बनाएको छ भने आइपिएलमा चलेका युवा खेलाडीलाई समेटेर एसियाली खेलकुदमा टिम पठाउँदैछ । एसियाली खेलकुदमा समूह विजेता बनेको अवस्थामा नेपालले उल्लेखित चार मध्ये एक टिमसँग अन्तिम आठमा भिड्नेछ ।
अन्तिम आठमा जित हात पारेको अवस्थामा नेपालको क्रिकेटबाट एसियाली खेलकुदमा पहिलोपटक पदक जित्ने सम्भावना हुनेछ । सेमिफाइनलमा जित हात पारे रजत पदक पक्का हुनेछ भने हार बेहोरेमा कास्यका लागि खेल्ने अवसर प्राप्त हुनेछ । पछिल्लो समय नेपाली क्रिकेट टोलीबाट ललितले सानदार प्रदर्शन गरेका थिए ।
नेपाललाई ओडिआई मान्यता निरन्तरता गराउन र एसिया कपमा पुयाउन उनको योगदान निकै महत्वपूर्ण थियो । ललितले अर्का लेगस्पिनर सन्दीप लामिछानेलाई पनि राम्रो साथ दिँदै आएका छन् । सन्दीप र ललितको जोडी जमेको थियो । ललित नहुँदा सन्दीपको प्रदर्शनमा समेत असर पर्नसक्छ ।
भर्खरै सम्पन्न एसिया कपमा भारत र पाकिस्तानविरुद्ध ललितको प्रदर्शन त्यतिनै प्रभावशाली रहेको थियो । उनी नहुँदा नेपालको बलिङ आक्रामणमै ठूलो असर पर्ने देखिन्छ । ललितले २३ ओडिआईमा २८ र १२ टि२० आईमा १० विकेट लिएका छन् । नेपाली टोलीमा उनले पावर प्लेमा पनि बलिङ गर्दै सानदार प्रदर्शन गर्दै आएका छन् ।