८असोज, काठमाण्डौ ।
आयोजक नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो । दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग १–० को पराजय भोगेको थियो । यता एक खेलमा जित तथा एक खेलमा बराबरीको नतिजा निकालेको पाकिस्तान भने समूह विजेताको रुपमा अघिल्लो चरणमा प्रवेश ग¥यो । दुई खेलबाट केवल एक अंक जोडेको माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ बाट भारत र भुटान सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
बंगलादेश भने बाहिरिसकेको छ । सोमबार माल्दिभ्सविरुद्ध नेपाललाई जित दिलाउन प्रशान्त लक्समले १८ औँ तथा समिर तामाङले ३० औँ मिनेटमा गोल गरे । त्यसपछि ३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
५८ औँ मिनेटमा माल्दिभ्सका एडम लायान राशिदले एक गोल फर्काए । ८८ औँ मिनेटमा निराजन धामीले नेपालका लागि तेस्रो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा समिर तामाङले नेपालका लागि चौँथो गोल थपे । खेलको अन्त्यमा माल्दिभ्सका खेलाडीहरुले रेफ्रीसँग विवाद समेत गरेका थिए ।
विवादपछि माल्दिभ्सका खेलाडीलाई रातो कार्ड दिइएको थियो । माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ। समूह बीको विजेता टुङ्गो लगाउन सोमबार साँझनै भारत र भुटानबीच प्रतिस्पर्धा हुदैछ।