Nepal Times
Nepal Times
234
Shares

अभियन्ता ‘ई’लाई ओलीको समर्थन / सुनिता संग कुरो मिलेन

अभियन्ता ‘ई’लाई ओलीको समर्थन / सुनिता संग कुरो मिलेन

८ असोज,काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले चुनावपूर्व जनाएको प्रतिवद्धता विपरित काम गरेको भन्दै निरन्तर धर्नामा रहेका अभियन्ता ‘ई’ लाई राजनीतिबाट प्रेरित रहेको स्वयम बालेनले आरोप लगाइरहेका बेला ‘ई’ को अभियानलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेका छन् ।

उनले १ सय २५ घण्टादेखि उभिएर सत्याग्रह गरेका अभियन्ता ‘ई’का सम्बन्धमा काठमाडौंका मेयर बालेन शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । शहर सफा राख्ने कुरा ठीकै भए पनि मान्छेलाई रुवाएर खेद्ने कुरा मञ्जुर नभएको उनको भनाइ थियो । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले ईको आवाज सरकारले नसुनेकोमा पनि आपत्ति जनाए ।

‘एकजना युवा १२५ घण्टादेखि उभिएर सत्याग्रह गरिरहेको छ, माग के हुन् ? सरकार पुग्यो त्यहाँ ? सरकारले सोध्यो ? एकजनाले त तिनका नेता खोज्दै जानुपर्ने भनेर अभिव्यक्ति दिएको सुनियो । दम्भले मान्छेलाई बिगार्छ, घमण्डले मान्छेलाई बिगार्छ,’ बालेनको नाम नलिई ओलीले भने । आज मात्रै बालेनले भनेका छन्,समस्या सुनौं भन्दा अभियान्ताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन ।

लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ । उनले थप भनेका छन्, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । उनले प्रश्न गरेका छन्, के बार्ता हामीले उहाँहरुको नेतासँग गर्न पर्ने ? पूर्वप्रधानमन्त्री ओलीले काठमाडौंको नगर प्रहरीले नागरिकमाथि ज्यादती गरेको आरोप लगाए ।

‘म टिभीमा हेर्छु, नगरप्रहरीले नागरिकमाथि ज्यादती गरेको छ, त्यो युवाले ज्यादती अन्त्य गर भनेको छ । गरीबहरूलाई विकल्प दिऊँ, बिहान ५ देखि ८ बजेसम्म, साँझ ६ देखि ८ बजेसम्म दिऔँ, मान्छेलाई रुवाएर हुँदैन,’ ओलीले भनेका छन् ।

एमाले अध्यक्ष ओलीले सडक ब्यापार बन्द गर्ने महानगरको निर्णयको विरोध गरिरहदा एमालेबाटै महानगरमा उपमेयरमा निर्वाचित सुनिता डंगोलले भने सडक व्यापार व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिने काम नगर्न पनि आग्रह गरेकी छन् ।

डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छन् । सोमवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रह समेत गरेकी छन् ।

उपमेयर डंगोलले काठमाडौं महानगरपालिका आफ्ना नीति र कार्यक्रम अनुसार अघि बढीरहेको पनि बताएकी छन् । उपमेयर डंगोलले संघीय सरकारले आवश्यक नीति, कार्यक्रम बनाएर देशभरकै सडक व्यापारीहरुको समस्या समाधान गर्नुपर्ने बताएकी छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.