११ असोज, एजेन्सी ।
भूराजनीतिका कारण राष्ट्रिय हित अनुकुल एकआपसमा कटुताको सम्बन्धका साथ अघि बढिरहेका अमेरिका र रुस अन्तरिक्ष अभियानमा भने अहिलेसम्म हातेमालो गरिरहेका छन् । अन्तरिक्षमा एक साथ रहेका नासाका एक अन्तरिक्ष यात्री र दुई रुसी अन्तरिक्ष यात्री एक वर्षभन्दा बढी अन्तरिक्षमा बिताएपछि बुधबार पृथ्वीमा फर्किएका छन् ।
यो नासासँगको रुसको अन्तरिक्ष अभियान हो । यससँगै अमेरिकी नागरिक फ्रान्क रुबियोले सबैभन्दा लामो अमेरिकी अन्तरिक्ष उडानको कीर्तिमान बनाएका छन् । तीन जना अन्तरिक्ष यात्री कजाकिस्तानको दुर्गम क्षेत्रमा रहेको सोयुज क्याप्सुलमा अवतरण गरेका थिए । तिनीहरूको मुल अन्तरिक्ष यान अन्तरिक्षमा रहेको भग्नावशेषको चपेटामा परेको थियो ।
त्यसपछि सोयुज क्याप्सूल प्रयोग गरिएको थियो । यसै कारण जुन मिसन १८० दिनको हुनु पर्ने थियो, त्यो मिसन ३७१ दिनको बसाइमा परिणत भएको थियो । रुबियोले अन्तरिक्ष उडानमा सबैभन्दा लामो समयसम्म बस्ने नासाको अघिल्लो रेकर्ड राखेका मार्क भान्डे हेई भन्दा दुई हप्ता बढी अन्तरिक्षमा बिताएर कीर्तिमान बनाएका छन् ।
रुसले सन् १९९० को मध्यमा ४३७ दिनको अन्तरिक्ष यात्राको विश्व रेकर्ड राखेको थियो। रुबियो र रुसी अन्तरिक्ष यात्री सर्गेई प्रोकोपिएभ र दिमित्री पेटेलिनलाई पृथ्वीमा फिर्ता ल्याउने सोयुज क्याप्सुल फेब्रुअरीमा प्रतिस्थापनको रूपमा पठाइएको थियो। रूसी इन्जिनियरहरूले गत वर्षको अन्त्यमा उनीहरूको मूल अन्तरिक्ष यानको रेडिएटर अन्तरिक्षका भग्नावशेषले क्षतिग्रस्त भएको आशंका गरेका छन् ।